तपाईको मत सोलारलाई कि बिजुली पार्टीलाई

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २५, २०७३

करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा कुन पार्टीलाई मत दिने तयारीमा हुनुहुन्छ, आम मान्छेले आम मतदातालाई सोध्ने विषय हो यो । मताधिकार नागरिकको अधिकार हो । यो बहुदलको सौन्दर्यको रुमपा पनि लिने गरिन्छ । दलिय प्रतिस्पर्धामा निर्वाचन कुन दल अब्बल छ, कुन दलको नीति तथा कार्यक्रम राम्रो छ । कसले जनताको पक्षमा काम गरे, वा गरेनन् भन्ने जान्ने, मान्ने र अनुभूत गर्ने उपयुक्त अवसर पनि हो । तर निर्वाचनलाई आफ्नो अनुकूल पार्न गरिने प्रयत्न र प्रयासले निर्वाचनको खास मक्सद पूरा हुन सकेको छैन ।

कुल मतदाताको तीस प्रतिशतको हाराहारीमा खस्ने मतका आधारमा छानिने प्रतिनिधिले आम जनताको प्रतिनिधित्व गर्न सक्दैनन् । तर बहुमतको विल्ला दिएर अल्पमतलाई नेता मानेर उसैलाई निर्वाचित भएको घोषणा गर्ने प्रवृत्ति नेपालमा मात्रै होइन, विश्वमा नै फैलिएको छ । के त्यसो भए बहुदलमा निर्वाचन यस्तै हुन्छ वा त्यही नै निर्वाचनको खास रुप हो त ? प्रश्न संगीन छ । तर उत्तर दिनेहरु आजसम्म मौन छन् र भन्छन् यो नै लोकतन्त्रको सर्वोत्तम रुप हो ।

यसपटक २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको विशेष महत्व रहेको छ । यस पटक सिंहदरबार गाँउ गाँउमा पुगेको छ । विगतमा जतिसुकै लोकतन्त्रको रटान लगाइएपनि लोकतन्त्र जनताको घर आँगनमा पुग्न सकेको थिएन । लोकतन्त्रको दुहाइ दिएर बाँसको कप्टेरा ठड्याएको भरमा निर्वाचन जित्ने परम्परा स्थापित थियो । अझ धादिङ जिल्लाको हकमा त जसले मनि, मशल प्रयोग ग¥यो, उसैले निर्वाचनमा विजयी भएको घोषणा गर्ने तथा गराउने अवस्था रहँदै आएको थियो । पल्सर कुदाएको भरमा निर्वाचनमा बुथ कब्जा गर्ने र आफू आफैले विजयी भएको घोषणा गर्ने प्रवृत्ति राम्रैसँग हावी छ ।

के यसपटक पनि त्यही प्रवृत्ति दाहोरिने त होला नी ? आम मतदाताको प्रश्न छ । जनतालाई स्वतन्त्र रुपमा मत हाल्न दिने, कुनै पनि प्रकारको प्रभार र प्रलोभन नदिने हो र सबैलाई मत हाल्न दिने अवस्था आएको खण्डमा निर्वाचनको परिणाममा आकाश जमिनको फरक पर्न सक्छ । तर धादिङ जिल्लाको विगतका केही निर्वाचनमा हे¥यौ भने आफूलाई घोर संसदवादमा विश्वास गर्ने पार्टीले मनि र मशलको भरमा निर्वाचन जितेको तथ्य आम मतदाताको बीचमा स्थापित छ ।

फेरी यस पटक पनि उही पूरानो र बिहारी शैली नदोहोरिएला भन्न सकिन्न । दोस्रो संविधानसभाको निर्वाचनमा सबै प्रकारको तिकडम प्रयोग गर्नेमा एमाले अग्रमोर्चामा थियो । जनताको मौलिक अधिकारको खण्डित गर्न यसले हुने र नहुने सबै उपाय अपनाएको थियो । आम मानिसहरु भन्छन् , निर्वाचन जित्ने नाममा एमालेले देखाएको भद्दा मजाक अहिले पनि चर्चाको शिखरमा छ । जसरी पनि चुनाव जित्ने मानसिकतामा धादिङमा विहारी शैली भित्र्याउनेमा एमालेको नकारात्मक देन छ भन्नेका कोही कसैको दुईमत रहन सक्दैन ।

निर्वाचन संघारमा आइपुगेको छ । मतदातालाई फेरी पनि प्रभाव र प्रलोभनको प्रक्रिया सुरु भइसकेको छ । अब निर्णय गर्ने पालो धादिङका सचेत मतदाताको हातमा आइपरेको छ । तपाईको मत पल्सर कुदाउने, मनि मशलमा विश्वास गर्ने, जनमतलाई लाट्ठी र मुङ्ग्रीको भरमा त्राहीमान बनाउनेलाई दिने कि ? सिंहदरबार गाँउ गाँउमा पु¥याउने शक्तिलाई दिने । एमाले र काँग्रेसले जतिसुकै लोकतन्त्रको कुरा गरेपनि, माओवादीले एकाध निर्वाचनमा पराजित भएपनि आखिर सिंहदरबार गाँउमा ल्याउन माओवादी नै आवश्यक प¥यो । साँझको समयमा बत्ती गएर हैरान पर्ने, खाना खान टुकी र मट्टीतेल खोज्नुपर्ने अवस्थाको अन्त्य माओवादीले गरिदिएको छ ।

रुबीभ्यालीका जनता नागरिकताको लागि धादिङबेसी झर्नुपर्ने छैन, सामान्य काम गराउन गाविस सचिव खोज्दै बीचबजार र सिरानबजार गर्नुपर्ने छैन । विकासको अवसर खोज्न काठमाडौँ र सिंहदरबार पनि जानुपर्ने छैन । विकास भएन हाम्रोमा भन्दै बसाई सरेर जानुपर्ने पनि छैन । अब तपाईका लागि सरकार गाँउमा आएको छ, तपाईको सरकार तपाईको आँगनमा आएको छ ।

तपाईको अधिकार तपाईसँगै आएको छ । तपाईको सिंहदरबार अब तपाईको गाँउमा नै बन्नेछ । त्यो कसले दियो र कसले ल्यायो , तपाई फेरी पनि बहकाईमा पर्नुभयो र तपाईको अमूल्य मत एक बोत्तल रक्सी, दुई चार हजार पैसा र बाँसको कप्टेरा देखाएको भरमा उही पल्सरे पार्टीलाई दिनुभयो भने त्यसले पार्ने प्रभाव कस्तो पर्ला ? एकपटक मनन गर्नुस धादिङका मतदाता । तपाईको सिंहदरबार तपाईको गाँउमा ल्याउने काम माओवादीले गरेको, प्रचण्डले गरेका हुन्, माओवादी जनयुद्धले गरेको हो । यो तपाईलाई थाहा छ । माओवादीका नेता बिग्रिए, नेताले जनतालाई हेरनन्, यो आम प्रश्न हो । तर त्यही बिग्रिएकाहरु सप्रिएर आएका छन् ।

आज शालिकराम जमरकट्टेल तपाईसँगै छन् । आम पुष्पविक्रम मल्ल तपाईसँगै छन्, आज ज्यूदा सहिद रामबहादुर भण्डारी तपाईको सुख दुखमा साथ दिएका छन् । तपाईको माँझमा छन् । हिजो जनयुद्धमा तपाईले जोगाएका शैलेशहरु तपाईकै साथमा छन् । यिनले तपाईको विपक्षमा कहिल्यै बदमासी गरेनन् । तपाईले आँखै अगाडि ढलेका तपाईका प्रिय नेता जीवन थपलिया तपाईले बिर्सनु भयो, तपाईका लागि भनेर आन्दोलनका लागेका अर्जुन लम्साल तपाईले भूल्नु भयो । अहँ धादिङका जनताले कहिल्यै भूल्न सक्दैनन् । आज तपाईको मत सिंहदरबार गाँउमा ल्याउनेलाई दिने कि तपाईलाई मनि र मशलको भरमा बाँसको कप्टेरा देखाएर तपाईको कतै अपहरण गर्नेलाई दिने सोच्ने दिन आएको छ ।

तपाईले बहकिएर फेरी पनि घामले तातो दिन्छ भनेर लाग्नुभयो भने धादिङ फेरी पनि पछाडि पर्नेछ । संविधानसभाको दोस्रो निर्वाचनमा सबै हत्कन्डा अपनाएर चुनाव जितेकाले तपाईलाई के दिए, तपाईले के पाउनु भयो ? हावाबाट बिजुली, समुन्द्र नै नभएको ठाँउमा पानी जहाज, घर घरमा ग्याँसको पाइप लाइन ? तपाईलाई क्षणिक मनोरञ्जन चाहिएको छ कि सिंहदरबार तपाईको गाँउमा चाहिएको छ । आज विचार गर्ने बेला आएको छ ।

तपाईले नियमित पाउन थालेको विद्युत् सोलार पार्टीले दिएको हैन, आज धादिङमा लोडसेडिङ छैन, तपाई खाना पकाउने र खाने बेलामा टुकी र मट्टीतेल खोज्नुपर्ने अवस्थाको अन्त्य भएको छ । तपाई काममा विश्वसा गर्नुहुन्छ भने यस पटक स्थानीय तहको निर्वाचनमा सोलार पार्टीलाई होइन, टुकीवाला पार्टीलाई होइन उज्यालो नेपाल पार्टीलाई मत दिन अग्रसर बन्नुपर्छ । एनजिओ, आइएनजिओलाई अगाडि सारेर भूकम्प पीडितलाई घर बनाउने नदिने प्रवृत्ति तपाईले चिन्नुभएको छ ।

निर्वाचन जितेकाले एनजिओलाई अगाडि लगाए, ती को को हुन ? सार्वजनिक वन मिचेर पार्टीको प्रचार संयन्त्र स्थापना गर्ने पनि तपाईले चिन्नुभएको छ । अरु दल केही होइनन, हामी मात्रै हौ, मेला पात नगर, फरक विचार भएकालाई सामाजिक संस्कारमा समेत बञ्चित गर भन्ने पार्टी र नेता पनि चिन्नुभएको छ । ठूला ठूला भाषण गर्ने तर वरको सिन्को पर नसार्ने प्रवृत्ति पनि तपाईले देख्नुभएको छ । यी सबै देख्नुभएको छ भने यस पटकको मत सिंहदरबार गाँउमा नै ल्याउनेलाई नै हुनेछ । उज्यालो नेपालका पक्षधरलाई नै हुनेछ ।