धादिङबेसी चैत्र १६ । धादिङबेसीबाट प्रकाशन शुभारम्भ गरेको साप्ताहिक पत्रिका सूचक सन्देश विमोचन गरिएको छ ।
धादिङबेसी स्थित भैरवी होटमा एक कार्यक्रममा बीच धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले सूचक सन्देश साप्ताहिक पत्रिकाको विमोचन गर्नु भएको हो ।
विमोचन कार्यक्रममा बोल्दै, अध्यक्ष दुवाडीले संचार उद्योग एन एस मिडिया धादिङले व्यवसायीक पत्रकारीतालाई जोड दिने आशा राख्दै पत्रिका शुभारम्भको शुभकामना दिनु भएको थियो ।
जिल्ला प्रसाशन कार्यालयमा ३० औं नम्बरका दर्ता भएको यो पत्रिका धादिङबेसीबाट हरेक मंगलबार प्रकाशित हुने विमोचन कार्यक्रममा एनएस मिडिया धादिङका प्रमुख नारायण सिलवालले जानकारी गराउनु भएको थियो ।
एनएस मिडिया धादिङले प्रकाशन गरेको उक्त सूचक सन्देश पत्रिकाको सल्लाहकारमा रामबहादुर भण्डारी, युवराज खतिवडा, रमेश लम्साल रहेका छन् । प्रधान सम्पादकमा नारायण सिलवाल, सम्पदक राजाराम रिजाल, अतिथि सम्पादक अमृत तामाङ, सह सम्पादक हरि नेपाली र व्यवस्थापक शुक तामाङ रहेका छन् ।
पत्रिकाले आफ्नो प्रकाशकीयमा लेखेको छ ।
सत्य सूचना, निष्पक्ष समाचार र व्यवसायीक पत्रकारिताको स्पष्ट अठोट र प्रतिवद्धतासहितको यात्रालाई निरन्तरता दिनको लागि आजबाट मोफसलको जिल्ला धादिङलाई आधार क्षेत्र मान्दै ‘सूचक सन्देश साप्ताहिक’ प्रकाशनमा आएको छ । ‘सूचक सन्देश प्रकाशन गर्नुको मुख्य ध्यय भनेकै वास्तविक, स्वतन्त्र र न्यायिक पत्रकारिताको माध्यमबाट जिल्लाका आर्थिक, सामाजिक, राजनैतिक तथा सम्पुर्ण पक्षको बारेमा सही सूचना मार्फत सुसुचित गराउदै जिल्लामा शान्तिको स्थापना, स्थायित्व र आर्थिक समृद्धिको सम्भावनाहरुका लागि गाउँ गाउँ र टोल टोलमा जागरण पैदा गर्दै एक आपसमा भातृत्वको सन्देश छर्ने नै हाम्रो संकल्प हुनेछ ।
रुवीभ्याली देखि रोराङ फेदी सम्मका आम पाठकहरुका समायानुकुल र समय सान्दर्भिक चाहना र रोजाइ नै सूचक सन्देशको मुख्य आकर्षण र प्रस्तुति हुनेछन् । यो अब तपाई, हाम्रो अनि सबैको सञ्चारमाध्यम हुनेछ । समाजको सबै वर्ग, जाति, लिङग, धर्म, पेशा र विचार भएकाहरुको साझा चौतारी बन्ने कुरामा कुनै शंका छैन । हामीलाई विश्वास छ आम पाठक तथा शुभचिन्तकहरुले हाम्रो यो अभियानमा हामीलाई हरतरहले साथ दिनु नै हुनेछ । वर्षौ वर्षसम्म जस्तो सुकै कठिन परिस्थितीका बाबजुद पनि सतिसाल भएर निरन्तर अगाडी बढिरहने हाम्रो चाहना पक्कै अधुरो हुने छैन भन्ने विश्वास हामी दिलाउन छौं । स्वतन्त्र पे्रस र नागरिकको सूचनाको अधिकार लगायतका लोकतान्त्रिक मूल्य (मान्यता प्रति अविचलित रहनका लागि अबका दिनमा पनि हामी यही मार्गचित्र अनुरुप आफ्नो गन्तव्य तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
शोषित पीडित जनताको हक (अधिकार, कानुनी राज्य, विधिको शासन, प्रेस स्वतन्त्रता जस्ता महत्वपूर्ण विषयहरुलाई यस ‘सूचक सन्देश’ ले अग्रमोर्चामा रहेर आफ्नो मुख्य भूमिका निर्वाह गरिरहने छ । आवाज विहीनहरुको आवाज, असहायहरुको लट्ठी, देख्न नसक्नेहरुको लागि आँखा बन्न तथा लोकतन्त्र, मानव अधिकार, राष्ट्रियता एवं जनताको आधारभूत आवश्यकताहरु परिपूर्तिका लागि राज्यका हरेक निकायमा दबाब मूलक भूमिका निर्वाह गर्न हामीले आफ्नो ठाउँबाट जिम्मेवार पहल गर्नेछौं । यसैलाई हामीले हाम्रो मुख्य लक्ष्य बनाउने संकल्प पनि हामीले गरेका छौं । आदरणीय पाठकवृन्द, तपाईहरुको निगरानी तथा खबरदारी नै ‘सूचक सन्देश’ को सफलताको लागि अनिवार्य तथा अपरिहार्य खुड्किलो हो । एउटा दरिलो सूचक बन्ने कुरामा हामीले बाटो भुल्यौ या बिरायौ भने पद प्रदर्शकको भुमिका अबश्य पनि निभाउनु हुनेछ भन्ने हामीलाई आशा एवं विश्वास छ । सामाजिक रुपान्तरणका लागि हामी कतै विचलित भईहाल्यौ र हामीलाई झक्झक्याउनु भएन भने हामी दुःखमा आत्तिन र सुखमा मात्तिन सक्छौं ।
तपाइहरु सबैको साथ र सहयोगविना सत्य, निष्पक्ष एवं व्यावसायिक पत्रकारितामार्फत रखवाली गर्दै मुलुक तथा जनताको पक्षमा सूचनाको सम्प्रेषण गर्नु ‘सूचक सन्देश’ का लागि असम्भव प्रायः नै हुनेछ । त्यसैले आमपाठक, शुभेच्छुक र शुभचिन्तकहरुसंग हामीले सदा साथ र सहयोगको अपेक्षा राखेका हौं । हामीसँगको निरन्तर सम्पर्कले आमपाठक, अधिकारविहिन भएका वा बनाइएका आम जनता, राष्ट्र र राष्ट्रिय स्वार्थप्रति हामीलाई थप प्रतिबद्ध बन्दै जाने प्रेरणा प्राप्त हुनेछ । आशा छ, ‘सूचक सन्देश’को प्रकाशनसंगै सबैको असिम माया र अनवरत साथ पाउनेछ ।
हाम्रो यात्रालाई अनवरत एवं निरन्तर अगाडी बढाई राख्नको लागि फेरि पनि आम पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुको सहयोग एवम् खबरदारी हुनेछ भन्ने आशा र विश्वास लिएका छौं ।
पत्रिका पढ्न यो डाउनलोड गर्नुहोला
soochak weeklu 15 chaitra