काठमाडौं चैत्र ९ । संसदको राज्यव्यवस्था उपसमितिको आजको बैठकले अब राष्ट्रिय दल बन्न प्रत्यक्ष तर्फ १ सिट अनिवार्य जित्नु पर्ने नीति बनाएको छ ।
आज बसेको बैठकले हाल अस्तित्वमा रहेका दलहरुले राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।
यस्तै समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ । संसदको राज्य व्यवस्था समितिले सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा बनाएको उपसमितिले उक्त निर्णय गरेको थियो। उपसमितिले बुधबार राज्य व्यवस्था समितिलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गर्दैछ ।
थ्रेसहोल्डको विषयमा साना दलले आपत्ति जनाउँदै आएका थिए । उपसमितिले यी विषयलाई टुंग्याएसँगै अब यस विषयमा समितिमा छलफल गरेर संसदमा पेस गरिने छ । उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारितको प्रक्रियामा जान्छ ।