धादिङ फागुन २५ । नेकपा माओवादी केन्द्रले बैशाख ३१ गते सम्पन्न हुने गाँउपालिका निर्वाचनको उम्मेदवार छनोटको लागि कार्यविधि तय गरेको छ ।
स्थानिय निकाय अन्तरगत गाउँपालिकाको वडा सदस्य देखि महानगर पालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि तय गरेको हो ।
यसरी छानिन्छन् उम्मेदवारहरु
वडा सदस्यका लागि जिल्लाले स्वीकृति दिनुपर्ने
स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ ।
वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ ।
गाउँ–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य
गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ ।