करणी अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले सुटुक्क भगाए

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २१, २०७३

धादिङ, २० फागुन । जबरजस्ति करणीको अभियोगमा पक्राउ परेका एक युवालाई धादिङ प्रहरीले सुटुक्क भगाएको खुलाशा भएको छ । धादिङको उत्तर पश्चिम तर्फ मैदी गाविसकी एक युवतीलाई जबरजस्ति करणीको अभियोगमा पक्राउ परेका मैदी–९ छापथोकका युवक थापालाई स्थानिय प्रहरी चौकीले सुटुक्क भगाएको पाइएको हो ।

प्रहरी चौकी मैदीका सहायक निरिक्षक पुर्ण बहादुर लामाले पीडितसँगको छलफल विना नै भगाएको पाइएको हो । ‘मैले समातेको २४ घण्टाभन्दा बढी राख्न मिल्दैन । माथि डिएसपी सापलाई सोधेको थिएँ । उहाँको आदेशमा मैले स्थानिय एक नेतालाई जिम्मा लगाएको हुँ,’ पुर्ण बहादुर लामाले भने ।

प्रहरीका अनुसार ती युवालाई छलफल नगराई एमालेका गाउँ पार्टी भानु दुवाडीको रोहवरमा भगाइएको हो ।

यता जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दीपेन्द्र पन्जियारले भने ती युवालाई पक्राउ नै नगरिएको दाबी गरे । ‘हामीले पक्राउ गरेको छैन । मलाई जानकारीमा पनि छैन,’ डिएसपी पन्जियारले भने,‘म यो घटनाको विषयमा बुझौैँला ।’

पीडितका अनुसार प्रहरीले पीडितको निवेदन समेत दर्ता गर्न अस्विकार गरेको छ । ‘म ११ कक्षामा पढ्ने विद्यार्थी हुँ, मलाई जबरजस्ति करणीको प्रयास गर्नेलाई प्रहरीले पक्राउ गरेर छाडिदियो,’ पीडित युवतीले भनिन्,‘प्रहरीले निवेदन पनि लिन मानेको छैन ।’