भूकम्प पीडितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७३

pradhikar

धादिङ, फागुन १८ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प पीडितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ ।

देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले बस्तीनै जोखिमपूर्ण बनेपछि प्राधिकरणले ती ठाउँबाट अन्यत्र बस्ती सार्न प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको हो ।

दुई-चार घर भएका ठाउँका बस्तीले आफूलाई पायक पर्ने स्थानमा बस्न सक्ने भन्दै प्राधिकरणले त्यसका लागि कम्तिमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म घडेरी बापत रकम दिने तयारी भईरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेलले जानकारी दिए ।

देशभर विभिन्न ठाउँमा गरी करिब १ हजार घर भएका जमिन भूकम्पले बस्नै नमिल्ने गरी भत्किएको छ । सामूहिक बस्ती रहेका ठाउँको हकमा भने सरकारले निश्चित कार्यविधि बनाउने पोखरेलको भनाई छ ।

यस्तै प्राधिकरणले पहिलो किस्ताको रकम पाएर सरकारी मापदण्डअनुसार घर निर्माण गरेका भूकम्प प्रभावितलाई छिट्टै दोस्रो किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।