आउदो चुनावमा एक मतदाताले सात जनालाई भोट दिनुपर्ने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७३

धादिङ फागुन ११-
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा एक जना मतदाताले सात जनालाई भोट हाल्नु पर्ने हुन्छ । गाउँपालिकामा हुने मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई मत दिन पाउनु हुनेछ ।
यस्तै नगरपालिकामा हुने मतदाताले भने प्रमुख, उपप्रमुख, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई भोट दिनुपर्छ । यसअघि भएको स्थानीय चुनावमा पनि यही व्यवस्था थियो । तर अहिले स्थानीय चुनाव नभएको २० वर्ष भैसकेको छ । त्योबेला भोट दिएकाहरुलाई त यो कुरा राम्रोसँग थाहा छ । तर पहिलोपटक स्थानीय चुनावमा भाग लिने सबैलाई यो जानकारी भैसकेको छैन । यसबारे समेत जानकारी गराएर निर्वाचन आयोगले मतदाता शिक्षा चलाउने तयारी गरेको छ ।
स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले अर्को हप्तादेखि निर्वाचन आचारसंहिता लागू गर्ने पनि तयारी गरेको छ । सरकारले सरुवा, बढुवा, नियुक्ति, अनुदान लगायतका काम गर्न नपाइनेगरी आयोगले आचारसंहिता लागू गर्न लागेको हो । यस्तै अस्ति ९ गतेसम्म मतदाता नामावलीमा नाम समावेश भएका र १८ वर्ष उमेर पुगेकाले स्थानीय चुनावमा भाग लिन पाउने आयोगले प्रष्ट पारेको छ ।
स्थानीय तह पुनर्संरचना आयोगले देशभर दुईसय ४१ नगरपालिका, चारसय ६२ गाउँपालिका, ४ महानगरपालिका र १२ उपमहानगरपालिकाको प्रस्ताव गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षको चुनाव हुन्छ ।

चुनाव घोषणा भएको दिन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले स्थानीय तहको चुनावमा मताधिकार गर्न पाउने आयोगले जनाएको छ । वैशाख ३१ गते देशभरका सातसय १९ स्थानीय तहमा हुने चुनावबाट ३४ हजारभन्दा धेरै जनप्रतिनिधि चयन हुनेछन् ।