काठमाडौं,फागुन ४ । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, पछिल्ला दिन सम्बन्ध प्रगाढ बनाउने साधन सामाजिक सञ्जाल अपराध गर्ने साधन बन्दै गएको छ । पछिल्लो उदाहरण मंगलबार प्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो । २१ वर्षीया एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठो मात्र छैन, प्रयोगकर्ताका लागि जिब्रो टोक्नुपर्ने पनि छ ।
अपरिचित युवकले ती युवतीलाई फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्ताव मात्र राखेनन्, अश्लील सन्देश पठाएर हैरान पारे । युवती प्रहरीकहाँ पुगिन् । प्रहरीले तुरुन्तै युवतीलाई यस्तो प्रस्ताव राखेको अभियोगमा ललितपुरको ग्वार्कोबाट सागर धिताललाई पक्राउ गर्यो ।
सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएका रहेछन् । त्यसपछि प्रहरीको अनुसन्धानको सुई अश्लील नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर सोझियो । प्रहरी अनुसन्धानपछि खुल्यो, सो अश्लील अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीका जागिरे सुरज बस्नेतले चलाइरहेका रहेछन् ।
अनौठो त के छ भने, सेक्स धन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले सो फेसबुक अकाउन्ट चलाएका रहेछन् । प्रहरीको अहिलेसम्मको अनुसन्धान भन्छ, ‘संगठित यौध धन्धा चलाउने र आफ्ना पक्षमा नदेखिने महिलाको हुर्मत लिनकै लनगि केही व्यक्तिको संलग्नतामा संगठित धन्दा भएको देखिन्छ ।’
ती व्यक्तिले खोेलेको एकाउन्टमा २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको फेसबुक अकाउन्टलाई यौनसम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने सूचना पोस्ट गरिएको प्रहरीको भनाइ छ । सो एकाउन्ट बन्द गरेर अहिले प्रहरी थप ‘कनेक्सन’ को खोजीमा छ ।
प्रहरीका अनुसार बस्नेत आफैं पनि कैयन युवतीहरूसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरूलाई यौनसम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने कार्यमा संलग्न छन् ।
प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन र बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ । महाशाखाका साइबर पिलर सम्हालिरहेका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास अत्यन्तै नौलो भएको बताए । उनले अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन भइरहेको बताए । राजधानी दैनिकमा खबर छ ।