शिवरात्रीमा खुल्ला दौड प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७३

धादिङ फागुन ४ । नलाङ गाउँ विकास समितिमा रहेको पर्यटकिय स्थल सिद्धवावा मन्दिर सिद्धलेकमा खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।

विगत वर्षमा जस्तै यस वर्ष शिवरात्री पर्व २०७३ फान्गुण १३ गते शुक्रवार चक्रदेवी सामुदायिक समाज नलाङले धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण प्रवर्धन र पर्यटन विकास र सहकार्यको लागी युवाहरु भन्दै दौड प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता खुल्ला हो, नाम दर्ता गरि जो कोहि पनि दौड मा भाग लिन सक्ने छन् हामीले प्रथम पुरस्कार, दितिय पुरस्कार, तृतिय पुरस्कार एवं सान्त्वोना पुरस्कार सहित नगद, प्रमाण पत्र एवं ट्रफि र मेडल आदि पुरस्कारको व्यावस्था गरेका छौं, आयोजक संस्थाका शंकर सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।

साथै दौडमा सहभागि खेलाडीलाई जर्सिको व्यावस्था गरिएको र दौड नलाङ मोडेल एकेडेमी, ठाँटी भञ्ज्याङ देखि सिद्धवावा मन्दिर सिद्धलेक सम्म शिवरात्रीको दिन बिहान ८ः०० बजे सिद्धलेक मन्दिर सम्म हुने समेल सिलवालले बताउनु भयो ।

धादिङ जिल्लाको नलाङ गाउँ विकास समितिको वडा नम्बर १ र सलाङ गाउँ विकास समितिको वडा नम्बर ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ ।

सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मिटर अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गाउँ विकास समितिहरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन ।