धादिङ माघ २८ । एमाओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले अपारदर्शी र पार्टी कार्यकर्ता भर्तीगरी संचालन भएका एनजिओ र आईएनजिओलाई गाउँ पस्न नदिन आग्रह गर्नु भएको छ ।
आज नेकपा माओवादी केन्द्र सिद्धलेक गाउँपालिकाको भेलामा बोल्दै अध्यक्ष जमकट्टेलले आफुले जिल्ला दैविक प्रकोप उद्धार समितिको वैठकमा पनि यो कुरा राखेको बताउँदै अपारदर्शी ढंगले काम गर्ने र गाउँ बस्तीमा पार्टीले ल्याएको प्रोजेक्ट भन्दै कार्यकर्ता भर्ती केन्द्र बनाउने एनजिओ र आईएनजिओलाई काम गर्न नदिन कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।
स्थानिय पुनर संरचना अनुरुप नलाङ, सलाङ र कुम्पुर मिलेर बनेको सिद्धलेक गाउँपालिको सम्मेलन आयोजक समिति गठन गर्न आयोजित भेलामा जमकट्टेलले स्थानिय चुनाव हुन्छ त्यसका लागि गाउँका घर-घर पुगेर पार्टीको एजेण्डा र जनयुद्धको उपलब्धीका विषयमा जनतालाई बुझाउन समेत निर्देशन दिनुभएको थियो ।
भेलामा नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज तथा सिद्धलेक गाउँपालिकाका फ्याक्सन इन्चार्ज शम्भुकुमार श्रेष्ठ (शिरिष) ले प्रस्तावित धादिङका ११ वटा गाउँ पालिका र २ वटा नगरपालिकामा फागुन १ गते जनयुद्ध दिवसको अवसरमा एकै पटक गाउँपालिका कार्यालय उद्घाटन हुने र सिद्धलेक गाउँपालिकाको कार्यालय कुम्पर फिस्टारमा संचालन गरिने बताउनु भयो ।
उहाँले नलाङ सलाङ र कुम्पुरका सम्पूर्ण पार्टी सदस्यहरु सुभचिन्तकहरुलाई अनिवार्य रुपमा उक्त जनयुद्ध दिवसको अवसरमा हुने शहिद तथा व्यपत्ता परिवार सम्मान तथा कार्यालय उद्घाटनमा सहभागि गराउन पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको कुम्पुरबाट पुष्प थपलियाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।