प्रमोद भट्ट
धादिङ माघ २७ । एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना पछि धादिङ जिल्लाको सत्यदेवी र त्रिपुरेश्वर गाविसको मुहार फेरीएको छ ।
२०७२ सालको भुकम्प पछि स्थानिय जनतालाई जिपाकोपार्जन, आवास, खानेपानी र सरसफाई, विपत जोखिम न्युनिकरण र लैङ्गिक क्षेत्रमा सकृय पुर्वक काम गर्दै आएको एक्सन नेपाल र अक्सफामको प्रयासबाट अहिले गाऊबासी हर्षित भएका छन् । भुकम्प पछि अस्तव्यत जनजीवनलाई सामान्य अबस्थामा फर्काउन यि संस्थाहरुले गरेको पहलको स्थानियबासी खुलेर प्रसंसा गर्दछन् ।
५ वटा विषयगत क्षेत्रमा रहेर काम गर्दै आएको यि संस्थाले दिएको सुविधा प्राय दुवै गाविसका सबै घर धुरीले पाएका छन् । जीविकोपार्जन कार्यक्रम अन्तर्गत करिव ५० लाखको लागतमा भुकम्पले भत्काएका छ वटा सिंचाई कुलो मर्मत, २२ वटा समुहलाई कृषिमा धुनिकिकरणको लागि ट्याक्टर, मिलेट थ्रेसर, कनसेलर, कम्बाईन मिल, ठेलागाडा लगायतका सामाग्री वितरण, १६० जना कृषकहरुलाई आधारभुत कृषि र पशुपालन तालिमसंगै प्रत्येक व्यक्तिलाई ७ हजार ५ सयका दरले सहयोग, ८ जना कृषकहरुलाई ३५ दिने कृषि र भेटेनरी तालिम संगै समुदायमा गुणस्तरिय सेवा प्रभाव गराउन प्रत्येकलाई ४० हजारको सामाग्री सहयोग, ६० जना व्यक्तिलाई लघुउद्यमीको रुपमा अगाडि बढाउन विभिन्न सिपमुलक तालिमसंगै प्रत्येकलाई ४० हजार सहयोग जस्ता कार्यक्रमले भुकम्पले दिएका पिडालाई स्थानियले भुल्दै गएका एक्सन नेपालका अध्यक्ष भिमप्रसाद ढुङगानाको भनाई छ ।
त्रिपुरेश्वर ९ का टकबहादुर पुलामी भुकम्पले भत्काएको सिंचाई कुलो मर्मत पछि आफुहरुको दैनिकी नै फेरीएको बताउछन् । वर्षाको समयमा समेत सिंचाईको लागि पानी ल्याउन सकेका थिएनौ यहि निहुमा कयौसंग झगडा प¥थ्यो तर अब यि सबै कुराको समाधान भएको छ । अब हिउदे तरकारी खेति गरेर आफुहरु उद्यमशिल बन्ने उनको भनाई छ । यस्तै कृषि सामाग्रीमा ट्याक्टर लगायतका आधुनिक उपकरण पाए पछि गणेशथान महिला समुहकी युवती शाह निकै खुसी छिन् । खेत जोत्न गोरु र मान्छे पाउन कठिन भईरहेको समयमा महिलाले समेत सहजरुपमा चलाउन सकिने सामाग्री पाएकोमा उनको समुह अहिले सामाग्री भाडामा लगाएर केही बचत गर्न सफल भएको छ ।
त्यस्तै ३ दिने कृषि तालिम लिए पछि सत्यदेवी का नेमाजोङ तामाङ अहिले च्याऊ खेतिमा लागेका छन् । उनले उत्पादन गरेको च्याऊ सत्यदेवीमै खपत हुने र त्यसबाट राम्रै आम्दानी समेत गर्न सफल भएको उनको भनाई छ । यित प्रतिनिधि पात्रमात्रै हुन् । आफुहरुको प्रयासबाट अहिले त्रिपुरेश्वर र सत्यदेवीका धेरै कृषकहरुको दैनिकीनै फेरीएको अक्सफामका जिविकोपार्जन प्रमुख कमल खनालको भनाई छ ।
यता खानेपानी र सरसफाई कार्यक्रम अन्तर्गत करिव १ करोड ३८ लाखकोे लागतमा ९ वटा खानेपानीको आयोजनाको काम भई रहेको र यसबाट ६१३ घर धुरीका मानिस लाभान्वित हुदै छन् ।
यो आयोजना पछि सत्यदेवी र त्रिपुरेश्वर गाविसका मानिसहरुले शुद्ध खानेपानी सहजरुपमा पिउन पाउने एक्सन नेपालका जनस्वास्थ्य इन्जिनियर प्रमोद पोखरेल बताउछन् । त्रिपुरेश्वर ७ का महोनबहादुर अधिकारीले धादिङपोष्ट संग खुसी बाड्दै एक्सन नेपाल र अक्सफामले समुदायमा गरेको काम कहिल्यै भुल्न नसक्ने बताए । त्यस्तै त्रिपुरेश्वर गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्न गरेको सहयोगको त्रिपुरेश्वरकी महिला स्वास्थ्य स्वयंसेविका जानुका अधिकारी उच्च मुल्याङकन गर्दछिन् ।
२०७३ साल फागुन महिना भित्र सत्यदेवी गाविसलाई पनि खुल्ला दिशामुक्त गाबिस घोषणा गर्न आफुहरुले सहयोग गर्ने एक्सन नेपालका कार्यक्रम संयोजक श्याम कृष्ण बजगाई बताउछन् । महिला स्वास्थ्य स्वयंसेविकाहरु हरुको क्षयमता वृद्धीमा अक्सफाम र एक्सन नेपालले खेलेको भुमिका अत्यन्तै फलदायि रहेको सत्यदेवीकी महिला स्वास्थ्य स्वयंसेविका गिता तामाङ बताउछिन् । साथै स्थानिय स्तरमै महिलाहरुले महिनाबारीको बेलामा प्रयोग गर्ने धुन मिल्ने (सुधारिएको) प्याड उत्पादन गर्ने तालिम दिएको र उत्पादन कार्यपनि थालिएको छ । यसले महिलाहरुलाई सरसफाईमा अग्रसर गराउन सहयोग प्रदान गरिरहेको एक्सन नेपालकी जनस्वास्थ्य अधिकृत सृजना आचार्यको भनाई छ ।
आवास कार्यक्रम अन्तर्गत दुवै गाविसमा २४० वटा सुधारिएको गोठ निमार्ण, २ वटा नमुना घर निमार्ण, भुकम्प प्रतिरोधि घर निमार्ण संबन्धि तालिम, घर निमार्ण गर्दा अपनाउन पर्ने तरिकाका बारेमा जानकारी का साथै ५१० वटा अन्न राख्ने, अन्न भण्डार वितरण गर्ने तयारी भइ रहेको र यसबाट दुर्वै गाविसका कृषकहरुले सुविधा पाउने आवासकार्यक्रमा सहायक इन्जिनियर ठाकुर ढकाल बताउछन् ।
विपत जोखिम न्युनिकरणको क्षेत्रमा पनि दुवै गाविसमा जनचेतना मुलक कार्यक्रम संचालन हुनुको साथै स्थानिय जनतालाई विपतको बेला सुरक्षित हुने तरिका र जोखिम न्युनिकरणको लागि स्थानिय स्तरमै खेल्नु भुमिकाको बारेमा विद्यालयका विद्यार्थीलाई समेत जानकारी गराईएको छ । अखाद्य सामाग्रीको भण्डारण, स्थानिय विपत जोखिम न्युनिकरणको मातहतमा गरिएको छ । साथै दुवै गाविसमा विपत जोखिम कोषका समेत स्थापना गरिएको छ । त्यस्तै जिल्ला प्रशाशन कार्यलय भित्र गोदाम घर निमार्ण कार्य पनि भईरहेको विपतजोखिम न्युनिकरण अधिकृत देवीरमण आचार्य बताउछन् ।
साथै लैङ्गिक तथा संरक्षणको क्षेत्रमा सचेतनामुलक कार्यक्रम दुवै गाविसमा संचालन भई रहेको लैङ्गिक अधिकृत बिनिता ढकाल बताउछिन् । यस कार्यक्रम अन्तर्गत मानव वेचविखन, बालविवाह, नागरिकता तथा व्यक्तिगत घटना दर्ता, लैङ्गिकतामा आधारित हिंसा र रिफ्लेक्ट कक्षा लगायतका कार्यक्रम संचालन भईरहेको छ ।