काठमाडौं, २६ माघ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो ।
प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’
निर्वाचित भएपछि मनांगेले ३५ सदस्यीय समिति गठन गरेका छन् । निर्वाचित भएपछि मनांगेले कुनै प्रतिक्रिया दिएनन् । मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।
गत संविधानसभा चुनावमा मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले १४ सय मत ल्याएर जितेका थिए । राप्रपाले ११ सय र राप्रपा नेपालले ६ सय मत ल्याएको थियो । दुई राप्रपा एक हुँदा मनाङमा राप्रपा बलियो देखिएको थियो । मनांगे प्रवेश गरेपछि राप्रपा बलियो भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनाङमा निर्वाचन हुँदा काठमाडौंबाट भोटरलाई हेलिकोप्टरमा लगेर दलहरूले आफ्नो दलमा भोट हाल्न लगाउने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।