भूकम्प प्रभावित जिल्लामा विद्यार्थी खटाइने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७३

काठमाडौँ,  माघ १८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास निर्माणमा सहयोग पुर्‍याउन विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खटाउने तयारी गरेको छ ।

प्राधिकरणले विभिन्न विश्वविद्यालयका प्राध्यपकहरूसँग छलफल गरी शैक्षिक क्यालेन्डरमा असर नपर्ने गरी माघ मसान्तभित्र एक हप्ताको तालिम दिएर विद्यार्थीलाई तीन हप्तासम्म विभिन्न गाविसमा निजी आवास निर्माणमा सहयोग पुर्‍याउन खटाउने तयारी गरेको हो ।

पोखरा विश्वविद्यालयका सातौँ सेमेस्टरका विद्यार्थीले परीक्षा दिइसकेकाले विश्वविद्यालय विद्यार्थीलाई स्वयम्सेवकका रूपमा खटाएर पुनःनिर्माणको अभियानमा सहयोग पुर्‍याउन तयार भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

अन्य विश्वविद्यालयले पनि विद्यार्थीहरूको परीक्षा सकिएपछि स्वयम्सेवकको रूपमा गाउँमा खटाउन तयार भएको प्राधिकरणले बताएको छ । यसरी खटाइने विद्यार्थीलाई जिल्लाअनुसार १५ देखि १८ हजार रुपियाँसम्म भत्ता, यातायात खर्च र बीमाको सुविधा उपलब्ध गराउने प्राधिकरणले बताएको गोरखापत्र दैनिकमा खबर छ ।

भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका अधिकांश गाउँमा आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरण भइसके पनि प्राविधिकको सहयोग नपुग्दा पीडितले घर बनाउन शुरू गर्न नसकेको गुनासो बढेपछि प्राधिकरणले स्नातक तहको अन्तिम परीक्षा दिएका विद्यार्थीलाई तालिम दिएर गाउँमा खटाउने अवधारणा ल्याएको हो ।

हालसम्म १४ जिल्लाका साढे पाँच लाखभन्दा बढीले पहिलो किस्ताको रकमका लागि अनुदान सम्झौता गरिसकेका छन् भने पाँच लाख पाँच हजार रुपियाँभन्दा बढीको खातामा अनुदानको पहिलो किस्ताको रकम जम्मा भइसकेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना इकाईले जानकारी दिएको छ ।

त्यस्तै ४१ हजार ३११ भूकम्प पीडितले निजी आवास निर्माण गरिसकेका छन् भने साढे २७ हजार पीडितको घर निर्माणाधीन रहेको प्राधिकरणले बताएको छ ।