धादिङ माघ ११ । धादिङ आगिन्चोक गाउँ विकास समितिका पदमबहादुर थापाले सालीलाई छोरी बनाई नागरीकता बनाई दिएको कारण पक्राउ परेका छन् ।
पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए ।
झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता भन्दै थापालाई स्थानीय प्रशाासन धादिङले पक्राउ गरेको हो।
थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।
विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।
सबै विवरण नक्कली भएको आशंकामा गाविस सचिव खतिवडाले स्थानीय प्रशासनमा माघ ४ गते उजुरी गरेपछि स्थानीय प्रशाासनले सबैलाई बोलाएर जारी गरिएको नागरिकता र राहदानी जफत गरि हिरासतमा लिएको सहायक प्रजिअ लिलाधर अधिकारीले बताए ।