पोखरेल दोस्रोपटक प्राधिकरणको सिइओ

Avatar photo
Dhadingpost
बिहिबार, पुस २८, २०७३

काठमाडौं पौष २८ । सरकारले प्रा.डा. गोविन्दप्रसाद पोखरेललाई पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई दोस्रोपटक सिइओ नियुक्त गरेको हो ।

ज्ञवालीलाई दुईपटक स्पष्टीकरण सोधे पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठकले उनलाई हटाउने निर्णय गरेको हो । नवनियुक्त सिइओ पोखरेलले बुधबार नै कार्यभार सम्हालेका छन् ।

पोखरेल पहिलोपटक २८ साउन ०७२ मा प्राधिकरणको सिइओ बनेका थिए । सुशील कोइराला नेतृत्वमा बनेको तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष रहेका पोखरेललाई नै सिइओको जिम्मेवारी दिएको थियो । त्यसवेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेशअन्तर्गत प्राधिकरणले काम गरेको थियो भने पोखरेल सिइओ बनेका थिए । तर, सरकारले समयमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रतिस्थापन विधेयक संसद्बाट पारित गर्न नसक्दा प्राधिकरण निष्क्रिय भयो भने पोखरेल पनि सिइओबाट बाहिरिएका थिए ।

प्राधिकरण ऐनअनुसार पोखरेलले करिब तीन वर्ष ११ महिना १५ दिन सिइओको रूपमा काम गर्नेछन् । प्राधिकरणको सिइओको कार्यकाल पाँच वर्ष हुन्छ । तर, सरकारले पहिलोपटक नियुक्त भएका सिइओ हटाएर दोस्रो नियुक्त गर्नुपरेमा बाँकी अवधिका लागि मात्रै सिइओ बनाउन सक्ने व्यवस्था छ । १० पुस ०७२ मा सिइओ भएका ज्ञवालीले १ वर्ष १७ दिन सिइओका रूपमा काम गरे । यो खबर आजको नयाँ पत्रिकामा छ ।

को हुन् गोविन्द पोखरेल ?

पोखरेल कांग्रेसका पराजित केन्द्रीय सदस्य हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएर काम गरेका छन् । पोखरेल योजना आयोगको उपाध्यक्ष रहँदा भूकम्पपछिको पुनर्निर्माणका लागि दाताहरुको सम्मेलन गरिएको थियो । नवनियुक्त पोखरेल प्युठानबासी हुन ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा। पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरे पनि सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले त्यससम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि औपचारिकता पाएको थिएन ।