आज २९२ औं पृथ्वी जयन्ती (शाहको जीवनी पढौं)

Avatar photo
Dhadingpost
बुधबार, पुस २७, २०७३

धादिङ पौष २७ । आज देशभर पृथ्वीनारायण शाहको जन्मउत्सव मनाईदैछ । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा २९२ औं पृथ्वी जयन्ती मनाउन लागिएको हो ।

ई.सं. १७३७ मा श्री ५ पृथ्वीनारायण शाहको उमेर १४ वर्षको भएपछि यिनको विवाहको समस्या आईपर्यो । उनताका राजकुमारलाई विवाहयोग्य भएका डोलाहरुका सन्देश गोर्खामा आइरहेका थिए । तर मामूली रजौटीकी छोरी डोला ल्याएर विवाह गर्न चन्द्रप्रभा र कौशल्यासमेत राजी थिएनन् ।

यस समय राजा माणिक्य सेनका जेठा छोरा हेमकर्ण सेनले मकवानपुरको ठकुराइको पगरी पहिरिरहेका थिए । ठकुराइमा तलहट्टीको धनहर जमीन ज्यादा हुनाले भूमिकरबाट आय प्रशस्त थियो । भावरका र भावरबाहिरका जंगलबाट हात्ती प्रशस्त हुने हुनाले र यस समयमा जंगल ज्यादा हुनाले लकडी विक्रि नहुने हुँदा हेमकर्ण सेन काठमाडौं उपत्यकाका मल्लराजाहरुलाई हात्तीखेदा गराई उम्दाउम्दा हात्तीहरु आफ्ना हात्तीसारमा राखी अरु हात्ती मुगलानियाँ धनाढ्यहरुलाई विक्रि गर्दथे ।

मुगलबादशाहलाई सादिन्दा १४ हात अग्लो हात्ती नगरानाका रुपमा दिनुपर्दथ्यो । तर त्यति अग्लो हात्ती दिन नसक्ने भएकाले मकवानी राजाहरुले हात्तीको सट्टा १०-१२ हजार रुपैयाँ पटनामा रहका मुगलहाकिमहरुलाई प्रतिवर्ष दिएर सन्तुष्ट गराउने गरेका थिए । मुगलहरु भावरभित्र आफ्नो अधिकार देखाउँदैन थे । तर तलहट्टीमा आफ्नो अधिपत्य देखाएर पटनामा रहेका मुगलहाकिमहरु सकेसम्म बढी रकम लिएर राजालाई निर्धन गराइराख्दथे ।

यी हेमकर्ण सेनकी सुन्दरी कन्या इन्द्रकुमारीको उमेर १२ वर्षजति मात्र भएको थियो तापनि चाँडै नै कन्यादान पुन्य दिने इच्छा गरेकाले हेमकर्ण सेनले विवाहको चर्चा चलाईरहेको थिए । मुगलानपट्टी छोरी विवाह गरिदिँदा तिलकका महंगीले कन्याका पितालाई दिक्क गराउँथ्यो । यस कारणले यिनी तिलकको सट्टा दाइजो दिने गरी पहाडका चौबीसी राजाहरुका कुमारहरुसँग बेलैमा आफ्नी छोरीको विवाह गरिदिन चाहन्थे ।

सम्भवतः देवघाटको मेला भर्न आएका मौकामा हेकर्ण सेनले श्री ५ पृथ्वीनारायण शाहलाई देखेका थिए । त्यसको समयमा उनको रुपरंग र चतुर स्वभाव देखेर यिनी प्रभावित भएका थिए । यिनले आफ्नी कन्याअनुरुप कुमार श्री ५ पृथ्वीनारायण शाहलाई ठानेर विवाह सम्बन्ध जुटाउने लमीको माध्यमबाट आफ्नी छोरीको विवाह श्री ५ पृथ्वीनारायण शाहसँग गर्ने प्रस्ताव गोर्खामा रानी चन्द्रप्रभा छेउ पठाए ।

यस विषयमा चन्द्रप्रभा, कौशल्य, श्री ५ पृथ्वीनारायण शाह र भारादारहरुको छलफल हुँदा मकवानीसँग विवाहसम्बन्ध स्थापना भएमा गोर्खालीको राजनैतिक उद्देश्य पुर्ति गर्ने काममासमेत सहयोग मिल्ने देखेर यो सम्बन्ध स्थापना गर्ने निधो भयो र स्वीकृतका निमित्त मकवानपुरमा गएका कन्यार्थी पुरोहित र राजदबारका धाइहरुले डोलामैयाँको रुपरंग, शीलस्वभाव जाँचे र सन्तोष प्रकट गरे ।

फलतः श्री ५ पृथ्वीनारायण शाहको विवाहको निधो भयो । तर विवाहका निमित्त आफ्नी छोरी मैंयालाई डोलाका रुपमा गोर्खा नपठाएर हेमकर्ण सेनले श्री ५ युवराज धिराज पृथ्वीनारायण शाह नै कमवानपुरमा बरियाँतसहित आएर विवाह गर्ने निमन्त्रणा पठाए । विवाह गर्न भनेर आफ्नो पुरोहित, ज्योतिषी, भैयाद, खजाञ्जी र भारदारका जमातको बरियाँतका साथ फगुन महिनामा श्री ५ पृथ्वीनारायण शाहले मकवानपुरमा गई निश्चित तिथिका खुशीराजीका साथ शुभविवाहको कार्य सम्पन्न गरे (ई.सं. फेब्रुअरी १७३८) ।

विवाह भएपछि दुलही लिएर जाने कुरा उठ्दा मेरी छोरी सानी हुनाले तेस्रो वर्षमा आएर द्धिरागमन(गौना) गरेर लैजानुहोला भनी हेमकर्ण सेनले भन्दा श्री ५ पृथ्वीनारायण शाह र जन्त भएर गएका पुरोहित, भैयाद, र भारादार आदि अकमक्क परे । नयाँ ससुरालीलाई चिढ्याउन श्री ५ पृथ्वीनारायण शाहले चाहेनन् र द्धिरागमनमा डोला पठाउने मकवानीको चलन पनि हुनाले उनी बिदावारी भई फर्केर गोर्खामा आए । (स्रोत : पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी / बाबुराम आचार्य)