एक हप्ता भित्र गाउँपालिकाको निर्वाचन मिति सार्वजनिक -जमकट्टेल

Avatar photo
Dhadingpost
बिहिबार, पुस २१, २०७३

धादिङ, कुम्पुर पौष २१ । माओवादी केन्द्र धादिङका जिल्ला इन्चार्ज शालिकराम जमकट्टेलले अब एक साता भित्र स्थानिय निकाय गाउँपालिकाको चुनावको मिति घोषणा हुने बताउँनु भएको छ ।

माओवादी केन्द्र कुम्पुर गाविसको सम्मेलन उद्घाटन गर्दै नेता जमकट्टेलले एमालेको संसद अवरोधका कारण रोकिएको गाउँपालिकाको चुनाव सर्वोच्चको आदेश पछि संविधान संशोधनको प्रक्रियालाई सहज भएको बताउँदै अब एक साता भित्र चुनावको मिति घोषणा हुने बताउनु भएको हो ।

अहिलेको संविधान बहिस्कार गरेर गएकाहरुलाई समेत संविधान संशोधन गरि सबैको संविधान बनाएर चुनाव गराउने काँग्रेस माओवादी लगाएत गठबन्धन दलको मुख्य उद्धेश्य भएको र मधेसका मुद्धा हल गरि गाउँपालिकाको चुनाव नहुँने संविधान संशोधन पछि चुनाव हुने समेत उहाँले बताउनु भएको थियो ।

अब कार्यदिशा अनुसारको पार्टी संगठन त्यसमा पनि धादिङबाट सुरुहुने बताउदै जमकट्टेलले देशभरमा पहिलो धादिङले मात्र जिल्ला सम्मेलन सम्पन्न गर्न लागेको बताउँदै २३ गते धादिङबेसी खुल्ला मञ्च आउन समेत कार्यकर्तालाई नेता जमकट्टेलले आग्रह गर्नु भएको थियो ।
सम्मेलनमा शुभकामना दिदै नेपाली काँग्रेस कुम्पुरका सभापति रामशरण गिरी र एमाले कुम्पुरका अध्यक्ष लक्ष्मण खतिवडाले माओवादी केन्द्र सहमति र सहकार्यका साथ अगाडी बढोस् मेलमिलाप र सहकार्यबाटै समृद्धि सम्भव भएको बताउनु भएको थियो ।

कार्यक्रममा जनयुद्धका सहिद नारायण उपाध्यायका बुबा सुवर्ण उपाध्याय, माओवादी केन्द्रका जिल्ला नेताहरु ध्रुव सुवेदी, तारा भण्डारी, दिपा कडेल माओवादी केन्द्र पिडाका अध्यक्ष अर्जुन भुलेल, केल्लेरी अध्यक्ष रामशरण सेन्चुरी, बेनिघाटका अध्यक्ष राजेन्द्र कडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम अघि वर्डा वर्डाबाट बाजा गाजा सहित नारा जुलुस सहित आएको र्याली कुम्पुरको माक्रिमटार गाविस भवन परिसरमा सम्मेलन उद्घाटन सभामा परिणत भएको थियो ।