हाम्रा जो दल छन् अहो ! किन यहाँ , होचा र पुड्का भए ?
हाम्रा जो दल छन् , हरे किन यहाँ , ब्रान्डी र भुँड्का भए ? ।।
झुण्डै झुण्ड र भ्रष्ट — तुण्ड दलमा , मैल्याउछन् भावना ।
सग्लो बेग लिने नदी र झरना , छैनन् सफा साधना ।। १।।
पार्टी नीति —विधान — कार्यक्रम नै ,भन्केर थन्के सबै ।
सत्ता स्वार्थ बढेर मैलन गए , सङ्कल्प वाचा कठै ।।
उत्साही र जुधारु अग्रगतिका , छाती हराए कहाँ ?
मात्रै द्रव्यपिचास दास गणका , भेडा रहन्छन् जहाँ ।। २।
राजा हो सब नीतिको भुवनमा , त्यै राजनीति अहा !
भन्ने दर्शन भत्कियो दलहरू ! यात्रा गर्यौ अन्यथा ।।
पार्टीभित्र विमर्श छल्फल कबै , गर्दै नगर्ने भयौ ।
नाता भ्रित्य कुबेर बम्श जनमै , नेता झनै खुम्चियौ ।। ३।।
बद्रीप्रसाद दाहाल
नीलकण्ठ नगरपालिका
धादिङ