काठमाडौँ, पुस ३ । कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन् । उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन् । कमला र ती युवा फेसबुकमा साथी भए, सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो । युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए ।
अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो । केही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो । अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायर नाघ्दै गए । सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँङ्की राखेनन् । तर, त्यती घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ ।
विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनाव ग्रस्त बन्यो ।
कमला जस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन् । तर उपहार हात पर्न सकेको छैन । ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए । उनलाई सबैभन्दा आकर्षक बस्तुका विषयमा सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए ।
उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलि पल्ट देखिनै सामाजिक सञ्जालबाट हराए । उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो ।
केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा फेसबुकालाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन् । ब्युरोका अनुसार ठगिने सबै महिला छन् । अधिकांशलाई उपहारको लोभ देखाएर र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ । केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्यूरोले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।