काठमाडौँ, मङ्सिर २२ । माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले नयाँ नारा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्यूरो बैठकले अबको नारा ‘गाउँ नगर घरघर जाऊँ, माओवादी केन्द्रलाई विजय गराऔँ’ रहने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेता तथा कार्यकर्तालाई गाउँ गाउँ गएर पार्टीको सङ्गठन निर्माण र स्थानीय निकाय निर्वाचनको वातावरण बनाउन निर्देशन दिने बताउनु भएको थियो ।
अध्यक्ष दाहालले सरकारले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्दै संविधान कार्यान्वयनको वातावरण बनाउनसमेत निर्देशन दिनु भयो ।
संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकाय निर्वाचन नै पहिलो सर्त भएकाले त्यसमा पार्टीले सोही अनुसारको योजना बनाएर अगाडि जाने र त्यसका लागि पहिलो चरणमा जनताको मन जित्न र निर्वाचनको तयारीमा जुट्न बैठकमा उपस्थित नेतालाई प्रचण्डले निर्देशन दिनु भएको थियो ।
अभियान र जिम्मेवारी
आगामी पुस १५ गतेसम्म जनवर्गीय सङ्गठनको एकीकरण र माघ मसान्त सम्ममा गाविस, वडा र नगर सम्मेलन तथा फागुन मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्नसमेत बैठकले निर्देशन दिएको छ ।
स्थानीय निकायलाई केन्द्रित गरेर नेताको कार्यविभाजनसमेत गरिएको छ । प्रवक्ता पम्फा भुसालका अनुसार प्रदेश नं १ को इन्चार्जमा गोपाल किराँती र संयोजकमा सावित्रीकुमार काफ्ले, प्रदेश नं २ इन्चार्जमा मातृका यादव र संयोजक विश्वनाथ साह, प्रदेश नं ३ इन्चार्जमा हितमान शाक्य र संयोजकमा झक्कु सुवेदी, प्रदेश नं ४ इन्चार्जमा देव गुरुङ र संयोजक कुमार अधिकारीलाई तोकिएको छ ।
यस्तै प्रदेश नं ५ इन्चार्जमा वर्षमान पुन र संयोजक पूर्ण घर्ती, प्रदेश नं ६ इन्चार्जमा शक्ति बस्नेत र संयोजक पारशमणि आचार्य, प्रदेश नं ७ इन्चार्जमा लेखराज भट्ट र संयोजक लक्ष्मण जोशीलाई जिम्मेवारी दिइएको छ । यस्तै विदेश विभागमा नारायणकाजी श्रेष्ठ र सङ्गठन विभागमा रामबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै बैठकले तीन हजार नौ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । आयोजक समितिमा रहेका सदस्यलाई निर्वाचित भएर आउनैपर्ने व्यवस्था गरिएको छ । यसैगरी तीन सय ९९ सदस्यीय पोलिटब्यूरो, ९९ सदस्यीय सचिवालय र ३३ जना केन्द्रीय कार्यालयमा रहने छ ।