देउसीभैलीमा बलात्कृत किशोरी समेत र्यालीमा

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ११, २०७३

हरिहरसिंह राठौर,
धादिङबेसी मंसिर ११ । शुक्रबार अपरान्हसम्म धादिङ सदरमुकाममा जताततै महिला देखिन्थे । हरेक वर्ष आयोजना हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनको र्‍यालीमा महिला हिंसा अन्त्य गर्ने चर्का नारा पनि लागि रहेका थिए । तर सोही र्‍यालीलाई उछिन्दै सकीनसकी ५२ वर्षीय देउती विक (नाम परिवर्तन) देउसीमा गएको बेला बलात्कृत १५ वर्षे छोरी नीरा (नाम परिवर्तन) लाई डोर्‍याउँदै जिल्ला प्रहरीतिर जादै थिइन् ।

र्‍यालीबीचमा फसेर चुपचाप उम्कने दाउ खोज्दै गरेकी उजेलीकी आमाछोरीलाई अर्की महिलाले नारा लगाउने सल्लाह दिएपछि उनीहरुले पनि मुट्ठी उचालेर नारा लगाउँदै हतारमा भीड छिचोल्दै अगाडि बढिन् ।

कुम्पुर–३,बेलपाटेबाट बिहानै निस्केकी आमाछोरीलाई सदरमुकामको पुछारबजारबाट १ किलोमिटर टाढाको बाटो छिचोल्नै १ घण्टा लाग्यो । गत तिहारको भाईटीकाकै सांझपख छिमेकी टोल नेपालगाउँमा देउसी भैली खेलेर फर्कँदै गरेको मौका पारेर गाउँकै चिनेका युवक राजन श्रेष्ठले १५ वर्षीय नीरालाई बलात्कार गरेका थिए ।

स्थानीय सुन्दर माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत घर फर्केकी छोरीले अस्वाभाविक स्वभाव देखाउन थालेपछि आमाले शंका मानेर सोधपुछ गर्दा गत बिहीबार मात्रै आफू बलात्कृत भएको रहस्य खोलिन् ।

बाबु वैदेशिक रोजगारीमा गएकोले न्यायका लागि आफैं आएको बताउने देउतीले दुवैपक्षलाई राखेर गाउँमा कचहरीले मिलाउने प्रयास गरे पनि पीडित पक्षले घटनाको जिम्मेवारी लिनुको साटो उल्टै ुदलितहरुले फसाउन खोजेकोु आरोप लगाएपछि आफू जाहेरी दिन आइपुगेको आमा बताइन् ।

बलात्कार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको यो घटना एघारौं हो । ‘गत साउनदेखि कात्तिकसम्म मात्रै धादिङमा बलात्कारका १० वटा मुद्धा दर्ता भइसकेको छ,’ प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईले बताए ।

जिल्लामा घरेलु र महिला हिंसा, यौनहिंसाका धेरै घटनाहरु सतहमा आउन थालेका छन् । जिल्लामा महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको सहयात्री समाज नेपालको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्ष मा ०७२र०७३ मा जिल्लामा ४ सय ४३ घटनाको अभिलेखिकरण गरेको छ ।

जसमध्ये १ सय ३२ घरेलु हिंसा, १ सय ११ कुटपिट, ६८ गालीगलौज र दु्र्व्यवहार, १६ वटा बलात्कारका घटना छन् ।

यसै गरी ४ वटा वलात्कार प्रयास, १२ यौन दुर्व्यवहार, २२ वटा नागरिकतासँग सम्बन्धित समस्या, ४३ वटा बहुबिवाहका घटना रहेका छन् भने १३ वटा घटना आर्थिक प्रलोभनमा पारिएको, ३ वटा मानसिक यातना, ५ वटा बोक्सिको आरोप, ३ मानवबेचविखन र ११ वटा अन्य घटना रहेका छन् । मंसिर १० गते इकान्तिपुरमा प्रकाशित खबर