धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ जुगेधारामा रहेको लामागुरु माध्यामिक विद्यालय मंगलवार देखि खुलेको छ । विद्यालयमा सोमबार भएको शिक्षक , विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहको संयुक्त वैठकले आगामी आइतवार (मंसिर १२ गते ) सम्ममा विज्ञान विषय अध्यापन गराउने शिक्षकको व्यवस्था गर्ने प्रतिवद्धता विद्यालयले जनाएपछि विद्यार्थीहरु ताला खोल्न सहमत भएका हुन ।
पाँच दिन भित्रमा पनि आवश्यक प्रक्रिया पुरा नभए फेरी पनि आन्दोलनमा होमिने विद्यार्थीहरुले चेतावनी दिएका छन । विद्यालयमा अध्यापन गराई रहनु भएका विज्ञान विषयका शिक्षक रुपक पाण्डेले एक्कासी राजिनामा दिएपछि उत्पन्न विवाद समाधानको लागि कुनै पहल कदमी नभएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका थिए ।
राजिनामा दिएको पाँच दिनसम्म पनि कुनै सुनुवाई नहुनु र शिक्षक पाण्डे हिडिसक्दा सम्ममा पनि विद्यालयमा मिटिङ समेत हुन नसकेको भन्दै आक्रोशित विद्यार्थीहरुले आइतवारदेखि विरोध स्वरुप ताला लगापछि पठन पाठन कार्य प्रभावित बनेका थिए ।
लामा गुरु माविमा विज्ञान विषय अध्यापन गराइनु भएका शिक्षक पाण्डेले आज भन्दा ६ दिन अगाडि नै राजिनामा दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिलाई समेत थाहा नदिई विद्यालयमा अन्योलता सिर्जना गरेको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका थिए ।उता शिक्षकहरुले भने उहाँको राजिनामा स्वीकृत भइनसकेको बताइएको छ ।
मंगलवार देखि ताला खुलेसँगै विद्यालयमा आइतवार देखि हुनु पर्ने दोस्रो त्रैमासिक परिक्षा आजबाट शुरु भएको छ । आइतवार र सोमबार विद्यालयमा उत्पन्न विवादको कारण परिक्षा स्थगित हुन पुगेको थियो ।