धादिङ कात्तिक २८-
सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचार खर्च ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।स्तन क्यान्सर भएपछि कोइरालाले १ करोड उपचार खर्च मागेकी थिइन् ।
मन्त्रिपरिषदको आज बसेको बैठकले स्वास्थ्य मन्त्री गगन कुमार थापाद्वारा ल्याइएको ‘विशिष्ट ब्यक्तिहरुलाई १५ लाख भन्दा बढी उपचार खर्च नदिने’ मापदण्ड विपरीत कोइरालालाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री थापाको अनुपस्थितिमा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो प्रस्तावमा मन्त्रिपरिषद बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको जनाइएको छ । सुजाता कोइराला उपचारका लागि आइतबार नै सिंगापुर गएकी छन् ।
त्यसैगरी बैठकले जनता आवास कार्यान्वयन कार्यविधिलाई मन्त्रिपरिषदको आर्थिक पूर्वाधार समितिमा पठाउने, संयुक्त राष्ट्र संघको क्षेत्रीय शान्ति तथा निशस्त्रीकरणको कार्यालय नेपालमा ल्याउन पहल गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दरबन्दी थप गर्ने, उर्जा संकट समाधान र सौर्य उर्जाको व्यवस्थाका लागि एसियाली विकास बैंकबाट २ अरब १२ करोड रकमका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।