बन्द सत्र रोक्न माग गर्दै तरुण दल धादिङका कार्यकर्ताद्धारा नारावाजी

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २८, २०७३

गंगालाल गुरुङ
धादिङ कात्तिक २८-

tarun

नेपाल तरुण दलको चौथो महाधिवेशन अन्र्तगत आजबाट बन्द सत्र पोखराको सभागृहमा शुरु भएको छ । हिजो नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले उदघाटन गरेको सो महाधिवेशनमा आज बिहान ११ बजेबाट बन्द सत्र शुरु भएको हो । यता नेपाल तरुण दल धादिङमा विवादको कारण जिल्ला अधिवेशन हुन नसकेपछि महाधिवेशनमा सहभागि हुन पाएका छैनन् ।
महाधिवेशनमा प्रतिनिधि सहभागि हुन नपाएपछि धादिङबाट पोेखरा आएका धादिङका तरुण दलका कार्यकर्ताले बन्द सत्र तुरुन्त रोक्न र आफूहरुलाई पनि सहभागि गराउनु पर्ने माग राख्दै बन्द सत्र स्थल बाहिर नारावाजी गरेका छन ।

आन्तरिक विवादको कारण जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका जिल्लालाई कात्तिक २४ गतेसम्मको समयसिमा दिएपनि अधिवेशन हुन नसकेपछि धादिङले महाधिवेशनको प्रतिनिधि हुनबाट वञ्चित भएका हुन । विवादको कारण ७० जिल्लाका जिल्ला, क्षेत्र र नगर प्रतिनिधि तथा अन्य तीन जिल्लाका क्षेत्र र नगर प्रतिनिधि गरी ७३ जिल्लाका मात्र प्रतिनिधि बन्दसत्रमा सहभागी भएका छन । जिल्ला, क्षेत्र र नगर कुनैपनि अधिवेशन गर्न नसकेका कारण धादिङले प्रतिनिधि सहभागी हुन पाएका छैनन् । तीन वटा जिल्लाका क्षेत्र र नगर प्रतिनिधि मात्रै सहभागी छन् । जिल्ला अधिवेशन हुन नसकेका कारण धादिङ जिल्ला प्रतिनिधि महाधिवेशनमा सहभागी छैनन् ।

महाधिवेशनमा १३ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशन अन्तर्गत आज बन्दसत्र र भोलि नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु हुनेछ । अहिलेसम्म नेतृत्वका लागि सर्वसम्मतको प्रयास भैरहेको छ । यदि सहमति जुटन नसकेमा निर्वाचन मार्फत नयाँ कार्यसमिति चुयन हुने बताइएको छ ।

तरुणदलमा हाल ६१ सदस्यीय कार्यसमिति रहेपनि नयाँ कार्यसमिति ७५ सदस्यिय सम्म पुर्याउने योजना छ । नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा चयन हुने बताइएको छ ।