धादिङ कात्तिक २८-
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज आह्वान गरेको नेपाल बन्द धादिङमा शान्तिपूर्ण रुपमा सकिएको छ । आज दिनभर धादिङमा कुनै पनि अप्रिय घटना घटेको खवर प्राप्त भएको छैन । खाद्य पदार्थमा भएको चरम महङगीलाई नियन्त्रण गर्नुपर्ने माग राख्दै गरेको बन्द अघि साँझ पाँच बजेबाट खुलेको छ । बन्द खुलेसँगै वातावरण सहज बन्दै गएको छ । बन्दको कारण आज धादिङको जनजीवन भने प्रभावित बनेका थिए । सदरमुकाम धादिङबेशी लगायत पृथ्वीराजमार्गमा प्रत्यक्ष असर परेको प्रहरीले जानकारी दिएको छ । पसल तथा शिक्षण संस्थाहरु ठप्प रहेको थियो ।
बन्दको बेलामा हुन सक्ने अप्रिय घटनालाई मध्य नजर गर्दै सदरमुकाम धादिङबेशीको विभिन्न चोकचोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने आज धादिङबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन पनि ठप्प नै रहेका थिए ।धादिङबेशीबाट काठमाण्डौ , नारायगढ , पोखरा तथा ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न नसकेको बताईएको छ । त्यस्तै काठमाण्डौ , पोखरा , नारायगढबाट धादिङबेशीका लागि छुटने सवारी साधन पनि आज सञ्चालनमा आउन सकेको थिएन ।
सधै सवारीको चाप रहने पृथ्वीराज मार्गमा पनि सवारी साधन कम मात्रामा चलेको प्रहरीले जनाएको छ । राजमार्गमा पर्यटक बोकेको बस , एम्बुलेन्स , पानी तथा दुधको गाडि र फाटफुट रुपमा अन्य केहि सवारी साधन मात्र सञ्चालनमा आएका थिए । बन्दको मारमा परेका विद्यार्थीहरु सडकमा निस्किएर क्रिकेट तथा ब्याडमिन्टन खेलिरहेका देखिन्थे । बन्दको कारण गन्तव्यमा निस्किएका सर्वसाधरण पैदल हिडन वाध्य भएका थिए।