धादिङ कात्तिक २५ –
आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउँछन् ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी विवाह गर्ने परम्परा पनि छ ।
तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।
अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।