पोखरामा प्लास्टिक झोला र गिलास प्रतिबन्ध

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २५, २०७३

पोखरा, कात्तिक २५-

pokhara

पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई बुधबारदेखि प्लास्टिक झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ। प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकोले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउने भएको हो।

उपमहानगरपालिकाले यस अभियानलाई सफल पार्न बिहीबारदेखि बजारमा अनुगमन सुरु  गर्ने र अनुगमनमा खटिएको टोलीले निषेध गरिएका ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐन अनुसार उनीहरुको कसुर हेरी कानून अनुसार पाँच देखि १५ हजारसम्म जरिवाना गर्ने बताइएको छ ।

यस्तै पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदी र स्याङ्जाको सीमानामा पनि अनुगमन टोली खटाई यसको नियन्त्रणमा कडाई गरिने भएको छ । घोषण सभामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको घोषणा गर्दै घरदेखि शहर सफाई गर्ने अभियानमा जुट्न सवै नगरवासीहरुसँग आग्रह गरे ।

घरभित्र उत्पादन भएका कुहिने र नकुहिने  फोहोरलाई छुट्टाछुट्टै  तरीकाले व्यवस्थापन गर्नु पर्नेमा जोड दिँदै उनले नगरको विकासमा उपमहानगरपालिका र स्थानीय जनता होस्टेमा हैसे गर्दै अघि बढ्नु पर्ने धारणा राखे । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना यो अभियानलाई सफल गराउन नगरबासीलाई आग्रह गरे। यसअघि पोखराको चिप्लेढुंगाबाट निस्केको र्‍यालीले नगर परिक्रमा पछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।