धादिङ कात्तिक २२-
डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि २५ जनाको गोताखोर परिचालन गरिए पनि नभेटिएपछि पानी बाहिरको सतहमा खोज्न थालिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार, पानीभित्रको सतहमा खोज्न सकिनेसम्मका भागमा खोजी कार्य गरिए पनि कुनै परिणाम हात नलागेपछि विशेषज्ञ टोलीको सुझावका आधारमा बाहिर सतहमा मात्रै खोज्न थालिएको हो ।
‘सरकारले उपलब्ध स्रोत साधन सबै परिचालन गरेको थियो, विशेषज्ञ गोताखोर परिचालन गरेको थियो, साथै सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको थियो तर भेटिएन,’ गृह प्रवक्ता पन्थीले भने, ‘विशेषज्ञहरुले पानीभित्र यो भन्दा बढी खोज्न सकिने ठाउँ छैन भनेपछि पानी बाहिरको सतहमा खोजी गरिरहेका छौं ।’
मुक्तिनाथ दर्शन गरेर फर्कदै गरेका घिमिरे परिवार सवार जीप ९ असोजमा त्रिशुलीमा दुर्घटनामा परेको हो । दुर्घटना भएकै दिन आमा, एक जना आफन्त र अंगरक्षकको शव फेला परेको थियो । दुर्घटनापछि परिचालित टोलीले केही दिनपछि एक जना भाइको शव फेला पारेको थियो । तर, पूर्वगृहमन्त्री घिमिरे र उनका अर्का भाइ भने अहिलेसम्म पनि बेपत्ता छन् ।
सशस्त्र प्रहरीको जवानदेखि निरीक्षकसम्मले बंगलादेशबाट गोताखोरसम्बन्धी तालिम लिएका छन् । उनीहरुले नै घिमिरे दुर्घटनामा परेपछि खोजी कार्य गरेका थिए । सशस्त्रले २०६६ सालदेखि गोताखोर तालिमप्राप्त जनशक्ति तयार पारेको हो । उनीहरूकै लागि त्रिशूलीको कुनिटारमा विपत् व्यवस्थापन तालिम केन्द्र सञ्चालनमा छ । सोही केन्द्रले त्रिशुली नदी तथा राजमार्गमा हुँदै आएका दुर्घटनाको खोज तथा उद्धार गर्दै आएको छ ।
पूर्वमुख्यसचिवसमेत रहेका पूर्वगृहमन्त्री घिमिरे सवार बा९च १५३१ नम्बरको स्कोरपियो जीप त्रिशुली नदीमा खस्दा उनीलगायत भाइ हरि घिमिरे बेपत्ता छन् । मोहन घिमिरेको भने केही दिनपछि शव फेला परेको थियो । पूर्वगृहमन्त्री घिमिरेको शव फेला नपरेपछि आफन्तहरुले आमा चैतन्यकुमारी घिमिरेको शवसँगै कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।