भारतीय राष्ट्रपति मुखर्जी भ्रमण सकेर फर्किए

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १९, २०७३

धादिङ कात्तिक १९–

by-by

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमण सकेर शुक्रबार स्वदेश फर्कनुभयो ।

राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट शुक्रबार दिउँसो साढे पाँच बजे स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नुभयो । राष्ट्रपति मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

विदाईमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपाल आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नाका साथै उहाँलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रममा सरिक हुनुभएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । स्वदेश प्रस्थान गर्नुअघि आज उहाँले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । रासस