तरुण दल धादिङमा विवाद कायमै, महाधिवेशन कात्तिक २७ गतेदेखि पोखरामा हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

tarun-dal

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेश आगामी कात्तिक २७ गतेदेखि पोखरामा हुने भएको छ । तर यता धादिङमा भने विवाद कायमै रहेको छ । धादिङ तरुण दलमा देखिएको विवाद समस्याको लागि प्रयास भईरहेको जनाइएको छ ।
महाधिवेशनको लागि पोखरामा तयारी तिब्र पारिएको छ । कात्तिक अन्तिम साता पोखरामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष उदय शमसेर राणाले जानकारी दिए ।

कात्तिक २७, २८ र २९ गते पोखरामा हुने महाधिवेशनको लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको र तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने उनले बताए । विहीवारपोखरामा पत्रकार सम्मेलन गरी महाधिवेशन तयारीको वारेमा जानकारी गराइएको हो ।

पार्टी सभापति शेर वहादुर देउवाको निर्देशन अनुसार महाधिवेशनको तयारी बारे स्थलगत जानकारी लिन पार्टीका केन्द्रिय सदस्य एबं निर्देशक समितिका संयोजक सुरेन्द्र पाण्डे, तरुण दलका अध्यक्ष राणा सहितको टोली पोखरा पुगेको थियो ।

महाधिवेशन अन्तर्गत कात्तिक २७ गते पोखराको चिप्लेढुङ्गामा उद्घाटन सत्र हुने र पार्टी सभापति शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा सञ्चालन हुनेछ । कात्तिक २८ गते बन्दसत्र सुरु हुने र २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ । महाधिवेशनमा झण्डै ७० जिल्लाका १३ सय प्रतिनिधिहरु सहभागी हुने अध्यक्ष राणाले जानकारी दिनुभयो । उनका अनुसार ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र वाँकी जिल्लामा केहि विवाद भएपनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् । जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका तर क्षेत्र र नगर अधिवेशन गरेका जिल्लाबाट क्षेत्रीय र नगर स्तरीय प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् ।

नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, उदयपुर, सुर्खेत र धादिङमा विवाद देखिएपनि विवाद समाधानको प्रयास भैरहेको उनले बताए । बाँकी जिल्लाले कात्तिक २४ गते सम्म अधिवेशन सम्पन्न गरे महाधिवेशनमा सहभागी हुन पाउने निर्देशक समितिका संयोजक सुरेन्द्र पाण्डेले बताए ।

तरुणदलमा हाल ६१ सदस्यिय कार्यसमिति रहेपनि नयाँ कार्यसमिति ७५ सदस्यिय सम्म पुर्याउने योजना छ । प्रादेशिक रुपमा कार्यसमितिको चयन हुने अध्यक्ष राणाले बताए । यसअघि दुई पटक सम्म महाधिवेशन सरेकाले केहि आशंका रहेपनि यो पटक तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने उनीहरुको दावि छ ।