धादिङमा ४३८७९ भूकम्पपीडितले पहिलो किस्ता प्राप्त

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

dhading

गत वर्षको बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको घरहरुको पुर्ननिर्माणको लागि धादिङमा ४३८७९ घरधुरीले पहिलो किस्ताको पचास हजार रुपैयाँ प्राप्त गरेका छन ।

तथ्यांकअनुसार धादिङ सहित उपत्यकाबाहिर ५ लाख ३३ हजार परिवारले घर पुनर्निर्माणका लागि अनुदान पाउनुपर्ने हो । तिहार अघिसम्म उक्त परिवारमध्ये ४ लाख २५ हजार ६ सय ४२ परिवारले मात्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार कतिपय भूकम्पपीडितको ऐलानी जग्गा छ । घरजग्गा अंशबन्डा भएको तर प्रमाण नभएका समस्या पनि छन् । घर भत्किएको तर मानिस जीवित नभएर कागजात मिलाउन बाँकी पनि छन् ।

अहिलेसम्मको तथ्यांकका आधारमा भूकम्पपीडितका लागि २१ अर्ब २८ करोड २१ लाख रुपैयाँ भूकम्पपीडितलाई पहिलो किस्ताबापत भुक्तानी भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले करिब ४२ हजार परिवारलाई मात्रै अनुदानको पहिलो किस्ता उपलब्ध गराएको थियो । करिब ४ लाख परिवारलाई यो आर्थिक वर्ष लागेपछि अनुदानको पहिलो किस्ताको ५० हजार रकम भुक्तानी भएको हो । उक्त रकम सम्बन्धित भूकम्पपीडितको बैंक खातामा जम्मा भएको छ । उक्त रकम जुनसुकै समयमा बैंक खाताबाट निकाले भूकम्पपीडितले घर बनाउन पाउनेछन् ।

सरकारले भूकम्प गएलगत्तै पूर्ण रूपमा घर क्षति भएको परिवारलाई पहिलो किस्ताअन्तर्गत ५० हजार, उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्तामा ८० हजार र छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।
तर, दाहाल नेतृत्वको सरकारले घर पुनर्निर्माणका लागि थप एक लाख रुपैयाँ अनुदान बढाएर तीन लाख पुर्याएको छ । उक्त रकमअनुसार दोस्रो किस्तामा डेढ लाख रुपैयाँ र तेस्रो तथा अन्तिम किस्तामा बाँकी एक लाख रुपैयाँ वितरण गर्ने सरकारको तयारी हो । हालसम्म दोस्रो र तेस्रो किस्ता रकम लिने कोही पनि छैनन् ।
पहिलो किस्ता वितरणमै ढिलाइ भएकाले दोस्रो किस्ता वितरण कुनै पनि जिल्लामा सुरु हुन सकेको छैन । अनुदान पाउनुपर्ने जिल्लामध्ये तीन वटामा मात्रै ९७ प्रतिशत भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएका छन् ।
सिन्धुपाल्चोक, रामेछाप र दोलखामा उक्त प्रतिशत परिवारले अनुदान पाएका हुन् । अन्य जिल्लामा करिब ९० प्रतिशतले मात्रै अनुदानको पहिलो किस्ता पाएका छन् । धादिङमा ३० प्रतिशत परिवारले अनुदान नै पाउन सकेका छैनन् । भूकम्पले १४ जिल्लाबाहेक थप १७ जिल्लामा समेत प्रभाव पारेको छ ।