आजबाट छठ पर्व सुरु

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

chada

मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व बिहीबार सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व बिहीबार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँ बस्तीमा छठी गीत गुञ्जिरहेका छन् ।

सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक सँस्कृतिका जानकार बताउँछन् ।

यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, नयाँ छ्याँची (माटोको भाँडा) मा जमाइएको दही, उखुका लाँक्रा र मौसमअनुसारका फलफूल सूर्यलाई अर्घ्य दिँदा देखाइने चलन छ । ‘भोरका अरख’ सम्पन्न भएसँगै इष्टजनसँगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढङ्गले सिङ्गारिएका देखिँदा छन् । जलाशय सजाउनुसँगै घरघरमा पर्वविशेषको तयारी र चर्चाले अहिले मिथिला क्षेत्र छठमय बनेको छ । रासस