शेरबहादुरदेखि खिलराजसम्म भारतीय दूतावासमा, ओली गएनन्

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

oli

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय राजदूतावास लैनचौरले आयोजना गरेको समारोहमा नेपालका विशिष्ट नेतादेखि गन्यमान्य व्यक्तित्वहरुले सहभागिता जनाए ।

समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली सहभागी भएनन् । ‘उहाँ भारतीय दूताबासमा जानुहुन्न,’ ओलीनिकट स्रोतले भन्यो, ‘पूर्वप्रधानमन्त्रीले दूतावासमा धाउनुहुँदैन भन्ने मान्यता राख्ने भएकाले ओलीजी निम्तो पाएर पनि लैनचौर नजानुभएको हो ।’

त्यसैगरी लैनचौरमा एमाले नेता सुवास नेम्वाङलगायत पार्टीका अन्य नेताहरु चाँहि उपस्थित थिए । दूतावासको निम्तो मान्न विभिन्न दलका नेताहरु पुगेका थिए । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने भियतनाम र जापानको भ्रमणमा रहेकाले उनीहरु मुखर्जीको स्वागतमा आयोजित कार्यक्रममा सहभागी हुन पाएनन्

मुखर्जीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी लगायतका नेताहरु उपस्थित थिए ।

दूतावासमा नजाने केपी ओलीको मान्यता भए पनि मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतीय दूतावासको निम्तो मान्न लैनचौर पुगेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि छिमेकीको निम्तो मानेका छन् ।

लैनचौरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले मंगलबार एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी नभए पनि त्यसपछि सोल्टी होटलमा आयोजना गरिएको रात्री भोजमा भने एमाले अध्यक्ष ओलीको सहभागिता स्वाभाविक भएको एमाले स्रोतले बतायो ।