भारतीय राष्ट्रपति नेपालमा ( फुल स्टोरी)

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

भारतीय राष्ट्रपतिको भव्य स्वागत

संविधान जारी गरेकोमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्वारा नेपाललाई बधाई, संशोधन प्रक्रिया सफलताको कामना

पर्शुराम काफ्ले,
काठमाडौं,  भारतीय राष्ट्रपति प्रणव मुखर्जी राजकीय भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । १८ वर्षपछि भारतका राष्ट्रपतिले नेपाल भ्रमण गरेका हुन् । तत्कालीन राष्ट्रपति केआर नारायणन १४ जेठ ०५५ मा नेपाल आएका थिए । मुखर्जी विगतमा मन्त्री हुँदा भने पटकपटक नेपाल भ्रमणमा आएका थिए ।
मुखर्जी विशेष विमानबाट बुधबार १२ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च अधिकारीले भव्य स्वागत गरे । उनको सम्मानमा सेनाले २१ तोपको सलामीसहित गार्ड अफ अनर दिएको थियो ।
मुखर्जी विमानस्थलबाट राष्ट्रपति भण्डारीकै गाडीमा शीतलनिवासमा पुगेका थिए । शीतलनिवासमा दुई देशका राष्ट्रपतिबीच करिब एक घन्टा दुईपक्षीय वार्ता भएको थियो । भण्डारीले मुखर्जीको सम्मानमा दिवाभोज दिएकी थिइन् । त्यसपछि मुखर्जी भारतीय दूतावासमा आयोजित जलपान कार्यक्रममा सहभागी भए । दूतावासपछि होटेल हायात पुगेका मुखर्जीसँग उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरे । साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

नयाँ संविधानलाई बधाई, संशोधन प्रक्रिया सफल होस् : मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले एक वर्षअघि संविधानसभाबाट संविधान जारी गरेकोमा नेपाली समकक्षी विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । बुधबार भएका बेग्लाबेग्लै भेटवार्तामा राष्ट्रपति मुखर्जीले नयाँ संविधान र संविधानको पहिलो संशोधनलाई स्वागतयोग्य कदम भन्दै थप संशोधन प्रक्रियाको प्रयास सफल पार्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति मुखर्जीले १५ मिनेट एक्लाएक्लै कुराकानी गरेका थिए । मुखर्जीले सुरुमा राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा औपचारिक भेटवार्ता गरेका थिए भने मुखर्जीसँग उपराष्ट्रपति पुन र प्रधानमन्त्री प्रचण्डले होटेल हायातमा शिष्टाचार भेट गरेका हुन् ।

‘भण्डारी संघर्षकी प्रतीक’

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी मुखर्जीले नेपाली जनताको लामो समयदेखिको संघर्षको प्रतीक भन्दै प्रशंसा गरेका थिए । भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार मुखर्जीले संविधान जारी भएकोमा राष्ट्रपति भण्डारी, संविधानसभा र नेपाली जनतालाई बधाई दिएका थिए । ‘संविधान जारी गर्नुभएको छ, यसमा बधाई छ । संघर्षबाट स्थापित संविधान हो । राष्ट्रपति आफैँ संघर्षको प्रतीक हुनुहुन्छ । म तपाईँलाई बधाई दिन चाहन्छु,’ मुखर्जीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री महतले नयाँ पत्रिकासँग भने, ‘संविधानसँग सम्बन्धित विषयहरू समाधानका लागि संविधान संशोधनका प्रक्रिया सुरु भएको छ, यसमा राष्ट्रपति भण्डारी र नेपाल सफल हुनेछ भन्नेमा म विश्वस्त छु ।’ स्रोतका अनुसार करिब एक घन्टाको वार्तामा राष्ट्रपति भण्डारीले नेपालीमा बोलेकी थिइन् भने मुखर्जीले अंग्रेजी र हिन्दीमा बोलेका थिए ।

भण्डारीलाई भारत भ्रमणको निम्तो

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी मुखर्जीले भारत भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए । जवाफमा भण्डारीले विशेष राजनीतिक परिस्थितिका कारण अघिल्लोपटक आफ्नो भारत भ्रमण स्थगित भएको भन्दै चाँडै भारत भ्रमण गर्न इच्छुक रहेको बताएकी थिइन् । ‘राष्ट्रपतिज्यूको दुई–तीन महिनाभित्र भारत भ्रमणमा जाने इच्छा छ, त्यहीअनुसार गृहकार्य होला,’ शीतलनिवाससम्बद्ध एक अधिकारीले भने ।
देखिने गरी सम्झौता कार्यान्वयन होस्
राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा भारतीय समकक्षी मुखर्जीले दुई देशबीच भएका सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएको परराष्ट्रमन्त्री महतले जानकारी दिए । मुखर्जीको भनाइ उद्धृत गर्दै महतले भने, ‘नेपाल–भारत सम्बन्ध र साझेदारी जनताले देखिने तहमा हुनुपर्छ । सम्झौताहरू कार्यान्वयन हुनुपर्छ र नयाँ सम्भावना खोजी गर्नुपर्छ ।’ मुखर्जीले नेपाल र भारतबीच पछिल्ला दुईपक्षीय वार्ताहरूको प्रशंसा गर्दै पूर्वघोषित परियोजनाहरू सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्रीसँग १५ मिनेट एक्लै वार्ता

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री प्रचण्डबीच १५ मिनेट भेटवार्ता भएको छ । होटेल हायातमा भएको सामूहिक शिष्टाचार भेटलगत्तै मुखर्जी–प्रचण्ड बेग्लै वार्ता भएको हो । ‘एक्लाएक्लै के–के कुरा भए, थाहा भएन, सामूहिक भेटमा बडो राम्रो कुराकानी भयो,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने । खनालका अनुसार मुखर्जीले राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री प्रचण्डको प्रयासको स्वागत गरेका थिए । मुखर्जीले सहमतिमा संविधान संशोधन हुने विश्वास व्यक्त गरेक थिए । मुखर्जीको भनाइ थियो, ‘तपाईँको नेतृत्वमा संविधान कार्यान्वयन प्रक्रिया सुरु हुनेछ र सबै पक्षसँग सहमति बन्नेछ भन्नेमा म विश्वस्त छु, तपाईँले गर्नुभएको प्रयासमा समग्र भारतको साथ छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपालको शान्तिप्रक्रियामा भारत सरकार र राष्ट्रपति मुखर्जीको भूमिकाको प्रंशसा गरेका थिए ।

कलाम र पाटिल आएनन्

तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनपछि भारतका राष्ट्रपतिहरू डा. एपिजे अब्दुल कलाम र प्रतिभा पाटिल नेपाल आएनन् । कलाम राष्ट्रपतिबाट बाहिरिएपछि काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाल आएका थिए । कलाम सन् २००२ देखि २००७ सम्म तथा पाटिल २००७ देखि २०१२ सम्म भारतका राष्ट्रपति थिए ।

के–के छन् मुखर्जीका कार्यक्रम ?

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम छ । त्यसपछि मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा आयोजित विशेष कार्यक्रममा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सहभागी हुनेछन् जहाँ उनलाई मानार्थ विद्यावारिधिको सम्मान दिइनेछ । काठमाडौं महानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनसमेत गरिनेछ । राष्ट्रिय सभागृहमा विशेष समारोहबीच उनलाई अभिनन्दन गर्न लागिएको छ । विदेशी सरकारप्रमुख तथा राष्टप्रमुख आउँदा महानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन गर्ने चलन छ ।
बिहीबार अपराह्न राष्ट्रपति मुखर्जीले नेपालको नीति अनुसन्धान प्रतिष्ठान तथा भारतको इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई विशेष सम्बोधन गर्नेछन् । शीर्ष नेताले राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेटवार्तासमेत गर्नेछन् । शुक्रबार मुखर्जीले जनकपुर र पोखराको भ्रमण गर्नेछन् । जनकपुरको तिरहुतियागाछीमा मुखर्जीलाई नागरिक अभिनन्दन हुनेछ । मुखर्जीले जानकी मन्दिरको विशेष पूजाआजा गर्नेछन् । जनकपुरबाटै उनी पोखरा जाने र भारतीय पूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनको दिवाभोज पोखरामै हुनेछ । बुद्ध एयरको जहाजबाट मुखर्जी जनकपुर, पोखरा हुँदै काठमाडौं आउनेछन् भने साँझ ५ बजे विशेष विमानबाट नयाँदिल्ली फर्किनेछन् । मुखर्जीलाई राष्ट्रपति भण्डारीले बिदाइ गर्नेछिन् ।

त्रिदेशीय साझेदारी आवश्यक : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नेपालको समृद्धि र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीनवटै देशको हितका लागि आवश्यक रहेको बताएका छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इन्डिया फाउन्डेसनको आयोजना र नीति अनुसन्धान फाउन्डेसन तथा नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिजको सहआयोजनामा दुई देशका प्रबुद्ध व्यक्तित्वहरू सहभागी फस्र्ट बाइलाटरल डाइलग नेपाल एन्ड भारत : एक्स्प्लोरिङ न्यु भिस्टास सेमिनारमा प्रचण्डले भने, ‘त्रिदेशीय साझेदारीबाट हामी सबैको हित छ ।’
नेपाल, भारत र चीनजस्ता उदीयमान शक्तिको बीचमा रहनु अवसर हो भन्दै त्यसबाट लाभ लिन सकिने प्रचण्डको भनाइ थियो । उनले भने, ‘आर्थिक समृद्धितर्फ दु्रत गतिमा बढिरहेका भारत र चीनबाट नेपालले लाभ लिनसक्छ ।’ भारतसँग नेपालको देश–देशबीचको मात्र नभई जन–जनबीचको सम्बन्ध रहेको भन्दै प्रचण्डले सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन गम्भीरताका साथ लागेको बताए । उनले भारतबाट नेपालले उच्च प्रविधि, दक्ष जनशक्तिको प्रसारको अपेक्षा गर्दै नेपाललाई अवसरको उर्वर भूमिका रूपमा सदुपयोग गर्न भारतीयलाई आग्रहसमत गरे ।

चित्तबुझ्दो संविधान कार्यान्वयन होस् : राम माधव

भारतीय जनता पार्टीका महासचिव तथा इन्डिया फाउन्डेसनका निर्देशक राम माधवले नेपालमा सबैलाई चित्त बुझ्ने गरी संविधान कार्यान्वयन होस् भन्ने भारतको चाहना रहेको बताए । उनले भारत नेपालको समृद्धि, शान्ति र दिगो विकासको पक्षमा रहेको उल्लेख गर्दै सहमतिबाट त्यस्तो लक्ष्य हासिल हुनेसमेत उल्लेख गरे । देशको हितको रक्षार्थ मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
माधवले नेपाल र भारतबीचको सम्बन्ध हिमालभन्दा अग्लो र हिन्द महासागरभन्दा गहिरो रहेको बताए । ‘हाम्रो सम्बन्ध उचाइको छ, आँधी आउँदैमा केही फरक पर्दैन । यो सभ्यताको सम्बन्ध हो,’ उनले भने, ‘नेपाल विविधताले भरिएको देश हो । यसकारण सहमतिका आधारमा नेपाल अघि बढोस्, भारतको यही शुभकामना छ ।’ आफूहरू थिंक ट्यांकको सोचभन्दा डु ट्यांकको सोचले अगाडि बढेको उनको भनाइ थियो ।

मुखर्जीले पशुपतिमा लाखबत्ती बाल्ने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान १० बजे पशुपतिनाथ मन्दिरमा लाखबत्ती बाल्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार पूजा सकिएपछि उनले मन्दिरमा दान पनि गर्नेछन् । ‘लाखबत्ती बाल्ने कार्यक्रम तय भएको छ । यस क्रममा राष्ट्रपतिज्यूबाट दान गर्ने पनि भनिएको छ । तर, दानको परिणाम भने खुलाइएको छैन । भोलि नै थाहा होला,’ कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले भने । उनका अनुसार लाखबत्ती बाल्न कम्तीमा २७ हजार रुपैयाँ लाग्छ ।

नेपाली जनताको उपलब्धिमा भारत गर्व गर्छ : मुखर्जी

भारत र नेपालबीच ऐतिहासिक र सभ्यताको सम्बन्ध छ । हाम्रा जनताले मित्रता र सहकार्यको निकट सम्बन्ध स्थापित गर्दै आएका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धले दुई सरकारकै समझदारी मद्दत गर्न सघाउ पु¥याएका छन् । यी विशेष सम्बन्धहरू भारत–नेपालमैत्रीका दिलमा छन् । यी नै हाम्रा साझेदारी, बहुआयामिक सम्बन्धका वास्तविक चालक हुन् । महामहिम राष्ट्रपतिज्यू, यसरी नै हाम्रा सम्बन्धका गन्तव्य जोडिएका छन् । एक–अर्काको भलो र सम्पन्नताका हामी यही कारण मूलभूत हिस्सेदार हौँ ।
नेपालका जनता ऐतिहासिक कार्यभार (जस्तै लोकतन्त्रका फाइदाहरूलाई मजबुत पार्ने, प्रगति हासिल गर्ने तथा हरेक जनतालाई फाइदा पुग्ने उपायहरू सुनिश्चित गर्ने)मा आबद्ध छन् । शान्ति, स्थिरता र प्रगति एवं अलराउन्ड विकासको बृहत्तर प्रयासलाई प्रशंसा गर्छु । सामाजिक–आर्थिक रूपान्तरणको नेपाली प्रयास साँच्चि नै प्रशंसनीय छ । उनीहरूले आफ्ना उद्देश्यहरू संघीय र लोकतान्त्रिक फ्रेमवर्कमा सबै पक्षलाई सँगै लिएर हासिल गर्न खोजेका छन् । उनीहरू विविधतायुक्त सामाजिक बनावटको आवश्यकताका आधारमा संविधानको कार्यान्वयन चाहन्छन् । यस सन्दर्भमा तपाईंहरूको सफलताको म कामना गर्दछु ।
म नेपाली जनताको धैर्य र सहनशीलताका लागि स्यालुट गर्दछु । भारत भूकम्पपीडितहरूको घर पुनर्निर्माणका लागि सहयोग गर्न प्रतिबद्ध छ ।
नेपालको सामाजिक विकासमा भारतको स्थायी रुचि छ । नेपालको सबैभन्दा नजिकको छिमेकीका रूपमा नेपाली जनताको उपलब्धिमा भारत गर्व गर्दछ र उसको विकास साझदारीको सफलतामा नेपालसँगै रहनेछ । दुईपक्षीय सम्बन्धको क्यानभासले मानवीय हितसँग सम्बन्धित सम्पूर्ण प्रयासका आयामहरू समेट्नेछ । हाम्रो नियमित उच्च प्रकारका सम्पर्क आदान–प्रदानहरू दुईपक्षीय सम्बन्धका विशेषता हुन् । यसले हाम्रा जनताको फाइदाका र प्रगतिका लागि हाम्रा स्रोतहरूको उपयोग गर्ने वचनबद्धतालाई थप टेवा पु¥याउ“छ । नेपाली जनता र सरकारको आवश्यकताअनुसार नेपाललाई सहयोग गर्न भारत सदा प्रतिबद्ध छ ।
२१औँ शताब्दीमा हामीले सामना गरिरहेका साझा चुनौतीले हाम्रो क्षेत्र र बाहिर शान्ति र सुरक्षाको वातावरण बनाउनुपर्ने दायित्व थपेको छ । आतंकवादले आज हाम्रो शान्ति र सुरक्षामा सबैभन्दा गम्भीर खतरा उब्जाएको छ । यसमा अन्तर्राष्ट्रिय समुदायले मिलेर काम गर्नुपर्नेछ ।
भारतले छिमेकीहरूसँगको सम्बन्ध त्यसमा पनि नेपाललाई उच्च महत्व दिएको छ । नेपालसँग सबैभन्दा नजिकको हाम्रो भ्रातृत्व सम्बन्ध छ । नेपाललाई सहयोग वृद्धि गर्न भारत तयार छ । सार्वभौम मुलुकका रूपमा हामी आपसी सम्मान, विश्वास, रुचि र चासोहरूको सम्मान गर्न प्रतिबद्ध छौँ । (रात्रिभोजमा मुखर्जीले दिएको मन्तव्य)

मुखर्जी दक्षिण एसियाकै वरिष्ठ राजनेता : भण्डारी

अठार वर्षको लामो अन्तरालमा भएको यो राजकीय भ्रमणलाई हामीले ठूलो महत्व दिएका छौँ । आपसी हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न भ्रमण फलदायी हुने हामीलाई विश्वास छ । नेपाली जनता तपाईंलाई असल मित्र र राष्ट्रको सेवामा पाँच दशकदेखि समर्पित दक्षिण एसियाकै वरिष्ठ राजनेताका रूपमा उच्च सम्मान गर्दछन् ।
सौहार्दता, सद्भावना, समानता र पारस्परिक सम्मानका आधारमा नेपाल र भारतबीच युगौं पुरानो सम्बन्ध विद्यमान छ । यो निकटता बलियो सामाजिक साँस्कृतिक सूत्र र जनस्तरको सम्बन्धबाट परिपोषित छ ।
नेपालको विकास अभियानमा भारतले पु¥याएको सहयोगको हामी सराहना गर्दछौं । विगत सात दशकमा भारतले अनेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै परिप्रेक्ष्यमा द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्न हामी इच्छुक छौं ।

महामहिम,

गतवर्ष जारी भएको संविधानको उद्देश्य हालैका वर्षमा हामीले हासिल गरेका लोकतान्त्रिक उपलब्धिको रक्षा र सुदृढीकरण गर्नु हो । अबको हाम्रो राष्ट्रिय प्राथमिकतामा मुलुकको समृद्धि प्राप्तिका लागि संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, सामाजिक आर्थिक रुपान्तरणमा जोड दिनु रहेको छ ।
नेपाल प्राकृतिक सौन्दर्य र विविध संस्कृतिले सम्पन्न गौरवमय मुलुक हो । पर्यटक र अन्वेषकका रुपमा भारतीयलगायत ठूलो संख्यामा विदेशीहरू नेपाल भ्रमणमा आउँछन् ।
विश्व शान्ति, भातृत्व, करुणा र मानवताका अग्रदूत गौतम वुद्धको जन्मस्थलका रुपमा छिमेक र विश्वमै शान्ति र समुन्नतिको प्रवद्र्धन गर्ने नीति हामीले अनुशरण गर्दै आएको छौं ।
विश्वमा लोकतन्त्रको विकास र सामाजिक चेतनामा भएको अभूतपूर्व प्रगतिले जनआकांक्षा तीब्रतर रुपमा बढेको छ । यही पक्षलाई आत्मसात गर्दै विधिको शासन तथा मानवअधिकार र समानताका मूल्य एवं मान्यताहरूको परिपालनाका साथै मानव जीवनस्तर उकास्न विज्ञान र प्रविधिको क्षेत्रमा हासिल भएका उपलब्धिको विश्वव्यापीरुपमा न्यायोचित वितरण हुनसक्दा विश्व शान्ति र समुन्नति अभिबृद्धि हुनेछ ।
मानव र भौतिक श्रोतको प्रचूरताका बावजूद विश्वका गरिव जनताको सबैभन्दा ठूलो हिस्सा दक्षिण एशियामा रहनु बिडम्बनाको विषय हो । यस क्षेत्रको प्रमुख आवश्यकता गरिबी निवारण भएकाले शान्ति, स्थायित्व र विकास, उपलब्ध श्रोतसाधनको सदुपयोग र रोजगारीका अवसरको सिर्जनालाई प्राथमिकता दिइनु पर्दछ । राष्ट्रहरूबीच आपसी समझदारी र विश्वासको वातावरण सिर्जना गर्नसके यसक्षेत्रको दू्रततर विकासमा ठोस योगदान पुग्नेछ ।
गरिबी, अभाव र द्वन्द्वको सबैभन्दा ठूलो असर महिला र बालबालिकाको भविष्यमाथि पर्ने यथार्थलाई मनन गर्दै हामीले महिला सशक्तीकरण गर्न र भावी सन्ततिलाई अझ प्रतिष्पर्धी तथा सक्षम बनाउन बालबालिकाको हित प्रबद्र्धनका साथै सर्वव्यापी शिक्षा र सार्वजनिक स्वास्थ्यको स्तरोन्नति गर्नु पर्दछ । खाद्य सुरक्षा, शुद्ध पिउने पानी, सरसफाई र उर्जा आपूर्ति अरु ज्वलन्त विषय हुन् । जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न तथा उपयुक्त अनुकूलन र न्यूनीकरण उपायहरू अवलम्बन गरी मानव जीवनको सुरक्षा गर्न र भावी पुस्तालाई सुरक्षित र दीगो धरती हस्तान्तरण गर्न संयुक्त प्रयास गरिनु पर्दछ ।

महामहिम,

विगत दुई वर्षको अवधिमा दुबै देशका प्रधानमन्त्रीको नियमित भ्रमणको आदानप्रदान भएको प्रसंगमा तपाईको यो राजकीय भ्रमणले हाम्रो निकट द्विपक्षीय सम्बन्धमा नया“ आयाम थप्ने कुरामा कुनै सन्देह छैन ।
यसअघि भ्रमण गर्नु भएका कारण नेपाल तपाईका लागि नौलो होइन । काठमाडौंका अतिरिक्त नेपाल र भारतको साँस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहेको ऐतिहासिक नगरी जनकपुर र सुन्दर पर्यटकीय नगरी पोखराको भ्रमणले यहाँलाई नेपालको प्राकृतिक र साँस्कृतिक विविधतासँग अझ नजिकबाट साक्षात्कार गर्ने अवसर प्राप्त हुनेछ । आशा छ, तपाईको वर्तमान भ्रमण सुखमय र स्मरणीय रहने छ । (रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको मन्तब्यको संपादित अंश) नयाँ पत्रिकाबाट