धादिङ कार्तिक १७-
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ५० मिनेट पछि खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार दिउँसो १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म नोटाम जारी गरेको थियो । यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न पाएका थिएनन् ।
भिभिआइपी जहाजमा आउनु २० मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गर्ने चलन छ । यो बेला बन्द गरिन्छ ।
मुखर्जीको आगमनलाई मध्यनजर गर्दै बन्द गरिएको उडान तथा अवतरण अहिले जारी छ ।अब आकाशमै होल्ड भएका जहाज अवतरण हुनेछन् भने विमानस्थलमा उड्ने तयारीमा रहेका जहाजले उडान भर्ने छ ।
अहिले टर्किस एयर र सिचुवान एयरलाइन्स उड्ने तयारीमा छन् भने थाइ, एयर अरेविया, नेपाल एयरलाइन्स, सिल्क र जेट एयरवेज अवतरण गर्ने तयारीमा छन् ।