धादिङ कात्तिक १६-
यमपञ्चकको आज अन्तिम दिन भाइटिका लगाएर धुमधामका साथ मनाईदै छ । यो वर्षको तिहार आज भाइटिका लगाएसँगै सकिने छ । आज भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए ।
टिका लगाउदा दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लगाउनु उत्तम हुने पञ्चाङग निर्णायक समितिले जनाएको छ ।
धार्मिक कथन अनुसार यमराज आफ्नो कामलाई थाती राखेर आफ्नो बहिनी यमुनासँग भेटघाटका लागि गएका थिए । सोही समयमा यमुनाले आफ्नो दाजुलाई टिका लगाईदिएको र त्यहि समयबाट भाईटिकाको शुरुवात भएको किवंदन्तीहरुमा भेट्टाउन सकिन्छ ।
दिदीबहिनी तथा फुपुहरुले आफ्नो दाजुभाइ भदाभदौनीलाई सप्तरंगी टिका लगाईदिने प्रचलन रहेको छ । दिदि बहिनीले आफ्ना दाजुभाइलाई मिठामिठा परिकार बनाएर खान दिने र दाजु भाइले पनि आफ्ना दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने चलन रहेको छ । आज दैलामा ओखर फुटाएमा दाजुभाइको वाधा, अवरोध हटने धार्मिक विश्वास रहदै आएको छ ।