सरकार र मधेसी मोर्चा विच आज निर्णायक वार्ता हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १४, २०७३

धादिङ कात्तिक १४-

meeting
सरकार र मधेश केन्द्रित दल मधेसी मोर्चा विच आज निर्णायक वार्ता हुने भएको छ । आज दिउसो ४ बजे बस्ने बैठकमा सत्ता साझेदार कांग्रेस पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा संविधान संशोधनका मुख्य चारवटा विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री दाहालले शनिबारको बैठकमा आफ्नो तर्फबाट संशोधनको प्रस्ताव गर्नुभएको छ । श्रोतका अनुसार प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको खाकामा कांग्रेस र मधेसी मोर्चाका नेता सकारात्मक देखिएपनि आइतबारको बैठकमा विस्तृत छलफल गर्ने तयारी छ ।

श्रोतका अनुसार नागरिकताको प्रावधान अन्तरिम संविधानकै प्रावधान राख्ने मोटामोटी सहमति भएको छ । जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउनुपर्ने मोर्चाको माग पूरा गराउन सत्तारुढ दल सकारात्मक देखिएका छन् । भाषा आयोग गठनको कामपनि अघि बढीसकेकाले यसमा खासै समस्या नहुने देखिएको मोर्चाका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रदेशको सिमांकन हेरफेर, नागरिकता र भाषा आयोग, राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व लगायतका चारवटा विषयमा संविधान संशोधनका लागि प्रस्ताव गर्नुभएको छ ।
बैठकमा प्रदेशको सिमांकनको कुरा मुख्य विषय बन्ने नेताहरुको भनाई छ । अरु विषयमा विवाद धेरै नभएपनि प्रदेशका बारेमा सहमति बन्न निकै गाह्रो देखिएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सिमांकनको हेरफेरको प्रस्ताव पेश गरेपनि त्यसमा मोर्चा सकारात्मक हुन सकेको छैन । प्रधानमन्त्रीले पेश गरेको प्रस्तावबारे केही नखुलाईएपनि त्यो मोर्चाको माग अनुसारको नभएको मोर्चाका नेताहरुले बताएका छन् ।