नयाँ शक्ति कम्यूनिष्ट विरोधी पार्टी होइन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १४, २०७३

ram-dhakalनयाँ शक्ति पार्टी नेपाल, स्थापनाको औपचारिक रूपमा घोषणा भएको एक बसन्त पनि पार गरिसकेको छैन । तर यसले आफ्नो दर्शन, राजनितिक कार्यदिशा, सिद्धान्त, लक्ष्य, उद्देश्य लगायत विषयहरू सापेक्षित रूपमा जनता माझ पुर्याउन सफल भइसकेको छ । भलै यस पार्टीको स्थापनाको औपचारिक घोषणाको पूर्व होस् या पछि दर्शन, विचार, सिद्धान्त, राजनिति कार्यदिशा लगायत विषयमा नकार या सकार दुवै कोणबाट नेपालको राजनितिक बजारमा जबरजस्त बहशहरूले ठूलै स्पेस लिन पुगेको देखिन्छ ।

विचार दर्शन नै नभएको पार्टी बनाउन खोज्यो बाबुरामले भनेर अनर्गल प्रचार गर्न पनि केहि झुण्डहरू नलागेका होइन । नेपाली जनताको माझमा विचारको व्यापार गरेर राजनितिलाई कमाई खाने भाडो बनाएकाहरूले विचार विहिन पार्टी भनेर भ्रम नछरेका पनि होइन । अझ बढी त आफूलाई कम्यूनिष्ट विचार, दर्शन र राजनितिक सिद्धान्तका ठेकेदार सम्झनेहरूले बाबुरामलाई कम्यूनिष्ट छोडेको, सर्वहारा वर्ग परित्याग गरेको साथै बुर्जुवाहरूको पक्षपोषण गरेको भनि विभिन्न लान्छना लगाएर नयाँ शक्ति पार्टी र मुख्यतया बाबुराम भट्टराईलाई राजनितिक रूपमा कलंकित बनाउन अराजनितिक हर्कत र प्रयत्नहरू भएकै हुन् र भईरहेका पनि छन् तर नयाँ शक्ति पार्टीले यस्ता गलत आरोप र लान्छानाहरूको प्रतिवाद अराजनितिक तरीकाले होइन सालिन र व्यवहारबाट गर्दै पार्टीलाई नेपाली जनताको माझमा वैकल्पिक शक्तिको रूपमा स्थापित गर्दै अगाडी बढिरहेको छ ।

सायद केही मान्छेहरूलाई लाग्न सक्छ । नयाँ शक्ति पार्टीलाई कम्यूनिष्ट विरोधी शक्तिको रूपमा चित्रित गर्न सके कम्यूनिष्ट विचार र दर्शनबाट प्रभावित नेपालमा एउटा ठूलो पंक्ती छ । जसलाई नयाँ शक्तिबाट टाढा राख्न सकिन्छ र आफ्नो गलत विचारको व्यापार पनि निर्धक्क रूपमा चलाउन पाईन्छ भन्ने जुन कुत्सित मनसाय देखिन्छ त्यो उनीहरूको दिवासपना मात्र हो कदापि पूरा हुने छैन । किनभने माक्र्सवादको गुदी कुरा भनेको नै ऐतिहासिक तथा द्वन्दात्मक भौतिवादी दर्शन हो ।

नेपाली राजनीतिमा नयाँ शक्ति नेपाल पार्टी अँध्यारोमा दियोको उज्यालो जति लोक प्रिय हुन्छ त्यस्तै लोक प्रिय बन्दै गएको छ । नेपाली जनतामा पनि आर्थिक समृद्धिको लागि नयाँ शक्तिको विकल्प नरहेको बुझाईको विकास भएको छ ।

जुन नयाँ शक्ति पार्टीले प्रथम राष्ट्रिय भेलाबाटै अहिलेसम्म दुनियामा विकास भएका दर्शनहरू मध्ये भौतिकवादी दर्शन नै समाज विज्ञानको सबैभन्दा अग्रगामी दर्शनको रूपमा अनुशरण गरिसकेको छ भने कम्यूनिष्ट सिद्धान्तले जुन सबै सुखी हुने, समान हुने, अदर्शवादी समाजको परिकल्पना गरेको छ त्यो प्रति नयाँ शक्ति पार्टीको विमति र विरोध हैन सधै सम्मान हुनेछ भन्ने कुरा पार्टीका संयोजक बाबुराम भट्टराईले पटक पटक सार्वजानिक गरैकै छन् मात्र कुरा कहाँ हो भने कम्यूनिष्ट विचार दर्शन र सिद्धान्तको भ्रष्टिकरण गर्दै आफू स्वार्थ अनुकुल व्याख्या गर्ने, सिद्धान्त र विचारको व्यापार गरेर राजनितिलाई सिमित व्यक्तिहरूको कमाईखाने भाँडो बनाउने, विचार र व्यवहार बीचको चिनियाँ पर्खाल खडा गर्ने तर आफूलाई सर्वहारा वर्गको अग्रदस्ता र कम्यूनिष्ट पार्टीको हिमायती ठान्नेहरूको चाही नयाँ शक्ति विरोधी नै हो यो कुरा घाम झै छर्लङ्गै छ ।

स्तालिनको पालामा अभ्यास भएको राजनियन्त्रित समाजवाद जुन राज्यसमाजवादमा पतन भएसँगै अहिलेसम्म कम्यूनिष्ट सिद्धान्तको केहि अपावाद बाहेक जुन तरीकाले भ्रष्टिकरण भएको छ त्यहि कुरालाई पुनरावृत्ति गर्ने तर इतिहासमा भएका गल्तिहरूको कहिल्यै समिक्षा नगर्ने र ग्वेवल्स शैलीमा आफूलाई सर्वहारा वर्गको अग्रदस्ता र कम्यूनिष्ट भनिरहनुको कुनै तुक छैन ।

त्यसैले नयाँ शक्ति पार्टी इतिहासको विभिन्न कालखण्डमा र आ–आफ्नो भौतिक परिवेशमा विकास भएका सिमित वाद, दर्शन, विचार भन्दा माथि उठेर सबैका राम्रा पक्षहरूको अनुशरण गर्दै माओको शब्दमा जुत्ता अनुसारको खुट्टा बनाउने होइन, खुट्टा अनुसारको जुत्ता आयत गर्नुपर्छ भन्ने कुराको पक्षपाती हो ।

नयाँ शक्ति पार्टी वामलोकतान्त्रिक पार्टी हो केही मान्छेले भनेजस्तो लेफ्टिस्ट पार्टी पनि होइन यो र शास्त्रिय कम्यूनिष्ट विचारमा विश्वास राख्नेहरूले आरोप लगाए जस्तो राईटिस्ट मात्र पनि होइन नयाँ शक्ति पार्टी । यो आवश्यकता अनुरूप दायाँ र बायाँ गर्दै अगाडी बढ्ने फ्रन्टिस पार्टी हो भनेर बुझ्दा नयाँ शक्ति पार्टी प्रति न्याय हुनेछ ।

अन्तमा, समयको गतिलाई समातेर अगाडी बढेको एकासौ शदिको गतिशिल पार्टी हो । माक्र्शवाद पनि गतिशिल विज्ञान हो । त्यसैले यसलाई कम्यूनिष्ट विरोधी भनेर आरोप लगाए पनि यसको कुनै तुक छैन भलै देशको समृद्धि गर्नको लागि निश्चित विचार, वाद र दर्शनमा मात्र आधारित रहेर अमुक नामको सानो पार्टी वा झुण्ड बनाएर सम्भव नै छैन भनेर नै ठूलो छातीका साथ नयाँ ढंगको, नयाँ सोच, शैलीको सबै अटाउन सक्ने सबैले मेरो पनि पार्टी हो भनेर अपनत्व महशुस गर्ने आलोचनात्मक चेतसहितको कार्यकर्ता र जनताको निर्माण गर्दै अगाडी बढेको छ नयाँ शक्ति पार्टी ।

यसको मुल लक्ष्य नेपाली जनताको समृद्धि नै हो । त्यसैले नयाँ शक्तिको कुभलो चाहाने, नयाँ शक्ति पार्टी र त्यसको नेतृत्व विरूद्ध विषवमन गर्दै हिड्नेहरू नेपाली जनताको समृद्धिको चाहाना माथि कुठाराघात गर्न खोज्दैछन् भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । राजनितिलाई सेवा होइन पेशा ठान्ने सिमित व्यक्तिको ठेक्का सम्झने प्रवृति विरूद्ध एकजुट हुदै राजनितिक रूपमा पनि सचेत हुदै तपाई हाम्रो समृद्धिको चाहाना तपाई हाम्रै पालामा पूरा गरौ भन्ने अपेक्षा छ हाम्रो । जय नयाँ शक्ति ! ! ! (लेखकः नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय परिषद सदस्य हुन् ।)