सरगम राना,
धादिङबेसी कात्तिक ९ । हिमालयन हेल्थकियर नेपालले जिल्ला अस्पताल धादिङलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
धादिङको उत्तरी ग्रामिण क्षेत्रमा काम गर्दै आई रहेको हिमालयन हेल्थकियर नेपालले आज धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला अस्पताललाई एम्बुलेन्स हस्तान्त्रण गरेको हो ।
हिमालयन हेल्थकियर धादिङका संयोजक शम्भुराज सिंह ठकुरीले जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेण्डट डाक्टर श्याम ढोडारीलाई एम्बुलेन्स तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै विरामीहरुलाई समयमै अस्पताल ल्याउन र सहज ढंगले उपचारका लागि यी सहयोगले महत्वपूर्ण भुमिका निभाउन सहयोग गर्ने आशा व्यक्त गर्नु भएको थियो ।
स्वास्थ्य क्षेत्रमा सहयोगका लागी ११ लाख बराबरको एम्बुलेन्स र पोर्टेबल ओटिलाईट, एनेश्थेसिया मेसिन, नेवुलाईजर मेसिन, सक्सन र बेडसाईड मोनिटर गरी १८ लाख ६९ हजारको एम्बुलेन्स तथा स्वास्थ्य उपकरण जिल्ला अस्पताल धादिङलाई फिर्ता नहुने गरी हिमालयन हेल्थकियरले प्रदान गरेको छ ।
यस संस्थाले भुकम्प अघि जिल्लाको दुर्गम गा वि स सेर्तुङ, तिप्लिङ, र लापामा मात्र सिमित थियो । भुकम्पपछि थप दुई गा वि स मा स्वास्थ्य सेवा दिएको संयोजक शम्भुराज सिंह ठकुरीले जानकारी दिनुभयो ।
उहाँले सम्पुर्ण राजनितीक दल, नागरीक समाज र अन्य जनसमुदायलाई जिल्लाको एक मात्र अस्पतालमा स्वास्थ्य क्षेत्रको स्तरउन्नती गर्न अघि बढ्नुपर्ने बताउनुभयो । कार्याक्रममा विभिन्न राजनितीक दलका प्रतिनीधी, विभिन्न संघ सस्थाका प्रतिनीधी र अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।