धादिङ कात्तिक ९-
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोे छ ।
प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशको सोमबार ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले प्रेस सेन्टरले राखेका मागप्रति आफू सकारात्मक रहेको भन्दै त्यसलाई छिटै कार्यान्वयनमा लैजाने बताउनुभयो ।
मन्त्री कार्कीले आफूले चाँडै सरोकारवाला निकायलाई बोलाएर छलफल अगाडि बढाउनेसमेत प्रतिवद्धता जनाउनुभएको ३ नम्बर प्रदेशका सचिव टेनिस रोकाले जानकारी दिनुभयो ।
त्यस अवसरमा सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘अब चाँडै पत्रकार महासङ्घ, प्रेस काउन्सिल, सूचना विभागलगायत निकायसँग छलफल गरेर यो काम अघि बढाउनेछु ।’
ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टरले र अघिल्लो सरकारको समयमा मन्त्रीस्तरीय निर्णयबाट ल्याइएको लोककल्याणकारी विज्ञापन नीति कार्यान्वयनका लागि अगाडि बढाउन माग गरिएको थियो ।
त्यस अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुँदा श्रमजीवि पत्रकार अन्यायमा परेको तथा कतिपय अवस्थामा उनीहरुको श्रम शोषणसमेत भइरहेको भन्दै ऐनको पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति अवलम्बनका लागि ध्यानाकर्षण गराइएको थियो ।
ज्ञापनपत्रमा अनलाइन मिडियालाई व्यवस्थित बनाउन माग गर्दै अनलाइन मिडियाका लागि पनि समानुपातिक विज्ञापन नीति ल्याउनुपर्ने समेत उल्लेख गरिएको छ । रासस