धादिङ कात्तिक ८-
लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसले आज पनि केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेको छ ।
यसअघि बोल्ने २४ जनामध्ये चार÷पाँच जनाले महाअभियोगको प्रस्ताव अघि बढाउनुपर्ने बताएका छन् । केहीले कार्कीलाई राजीनामा गर्न लगाउनुपर्ने र केहीले आफूहरुसँग छलफल नगरी प्रस्ताव ल्याइएको भन्दै असहमति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले आ–आफ्ना भनाइ राखिरहेका छन् । यसअघि दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्नेहरुबाट मिश्रित धारणा आएपछि कांग्रेसले यसबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन ।
आजको बैठकमा अधिकांशको धारणा सुनेर संसदीय दलको बैठकसमेत राखी औपचारिक धारणा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतकाले यस विषयमा धारणा राखि सकेका छैनन् ।
कांग्रेसका कतिपय केन्द्रीय सदस्यहरुले संविधान संसोधन गरेर कार्यान्वयन गर्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।