लोकमानविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश,पर्सीदेखि छलफल हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ७, २०७३

धादिङ कात्तिक ७-

samsad-bhawan

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने भएको छ।

संसद बैठकको सुरुमै सभामुख घर्तीले कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएको सूचना पढेर सुनाएकी थिइन्। त्यसपछि सभामुखले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गरिएको जानकारी दिइन्।

आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मंगलबार दिउँसो ३ बजेका लागि समय निर्धारण गरेकी हुन्।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइने छ। महाअभियोग सिफारिस समितिले प्रतिवेदन तयार पारेर संसदमा पेश गरेपछि महाअभियोग प्रस्तावबारे संसदमा मतदान हुनेछ।

यसअघि कार्कीविरुद्ध नेकपा माओवादी केन्द्र र एमालेका एक सय ५७ सांसदले गत बुधवार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।