काठमाडौं, असोज २८ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका सल्यान जिल्ला सेक्रेटरी सहित दुईजना नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले पक्राउ गरेको छ ।
झुला–६ का १९ वर्षीय डिभाइड भन्ने खिमबहादुर देवकोटा र रुकुम गोतामकोट–९ घर भई मुसिकोट नगरपालिका–१ पातुखोलामा होटेल व्यवसाय गर्दै आएका ३४ वर्षीय जुनबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेकाले सबै कुरा खुलिनसकेको रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताए ।
उनका अनुसार उनीहरुबाट मेसिनसहित एक थान एक हजार रुपैयाँको नक्कली नोट प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका बोहराका अन्दाजी १५ वर्षीय छोराले छापेर राखिएको बोराबाट एक हजार रुपैयाँ निकालेर स्याउ किन्न जाँदा पसलेले शंका लागेर प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।