प्रस्ताव बमोजिम थ्रीडी युवा बिर्चेत युवा क्लव आयोजक भइ दार्खा भरका वडागत टिमहरू मध्यबाट थ्रीडी कप फुटबल प्रतियोगिता गर्ने भो । तर औपचारिक रूपमा भर्खरै दर्ता गरिएको संस्थासॅग अर्थको अभाव थियो ।
धेरैको नजर गाविसको युवा तथा खेलकुद बजेटमा थियो । तर सरकारी बजेटको लागि हुने खिचातानी, मनोमालिन्य र घृणित खेलबाट म आजित थिए । घोडचढी नाच, ल्होछार र छेचीलाई प्रबर्धन गर्न वैयक्तिक शुभचिन्तकको भरमा सफल भएको नजिर पेश गरे । तब सरकारी बजेटको आश गर्दै सहयोगी हातहरू खोज्ने तय गरियौ ।
नयाॅ संस्था भएकोले हामीसॅग स्फूर्ती, विश्वास, समर्पन र प्रतिबद्धताबाहेक केही थिएन । बिस्तारै कुरा बढाउदै जादा समाजसेवी हरिसिंह गुरूङले सक्दो सहयोग गर्छु भन्ने आश्वासनबाट हौसिएका हामी पञ्चसिंह तामाङले प्रथम पुरस्कार प्रायोजन गर्ने भए पछि प्रतियोगिता गर्ने अन्तिम निचोडमा पुग्यौ । सो बमोजिम गाउॅभन्दा बाहिर उपाध्यक्ष हिराविरको संयोजकत्वमा, केवङ तामाङ र म पनि सहयोग जुटाउन लाग्यौ । गाउॅमा अध्यक्ष चोकबहादुर घलेको नेतृत्वमा, अर्जुनबहादुर तामाङ, राजेन्द्र लगायतका साथीहरू समर्थन जुटाउन लाग्यौ ।
हामी व्यक्ति, गैसस र सरकारी कार्यलयमा धायौ । त्यसबेला हामी सबैलाई तेर्सिएको प्रश्न झगडाको लागि ? फेरी को काटिन ? लगायतले हामीलाई नाजवाफ बनाएका थिए । अझ यस अघिका घटनाहरूले सशंकित भने बनाएकै थियो । दार्खा असुरक्षित, दिनदहाडै मान्छे काटिए लगायतका समाचार ले जिल्लासम्मलाई भयभित तुल्याएकै थियो । र त स्थानीय प्रशासनले अनुमति दिन आनाकानी गर्यो ।
दार्खा गाविस भरका चौबिस टिम दर्ता हुनु उत्साहप्रद मात्र मानिएन, यो चुनौतिपूर्ण पनि थियो । थोरै मात्र असावधानीले दुर्घटना निम्तिन सक्थ्यो । त्यस बमोजिम सहमतिमा नियमहरू बनायौ । नकआउट मात्र खेलाउदा असन्तुष्टी बढ्ने भएकोले लिगकम नकआउट बिधि छान्यौ । पहिलो र दोस्रो चरण लिगकम त्यसपछिका गेमहरू नकआउट गरी खेलाउने विधि छनौट गरियो ।
आयोजक टिम केन्द्रित भएर नबसे खेल ब्यवस्थापनमा असुविधा हुने भएकोले क्याम्प खडा गरेर कम्तिमा बीसजना सॅगै खाने र सॅगै बस्ने ब्यवस्था गरियौ । खेलमा सामान्य विवादहरू भइरहन्छन् । योजनाबद्ध विवाद घातक हुन्छन् । कतिपय अवश्थामा राम्रो खेल्दा खेल्दै पनि हारेका टिमप्रति सान्त्वाना दिने निति स्वरूप क्वाटरफाइनल चरणमा हार्ने टिमलाई म्यान अफ दि म्याच दिइयो । दशजना रेफ्रीले पालैपालो खेलाइएका खेलहरू प्रतिस्पर्धात्मक, रोमाञ्चक थियो ।
अन्तत्वगत्वा थ्रीडी बिर्चेत युवा क्लवले आयोजना गरेको दार्खा गाविस स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । योसॅगै दार्खासॅग रहेका सम्पूर्ण भ्रम, शङ्का र आशङ्काहरू सिद्धिएका छन् । दार्खाका युवाहरू बिभाजित मात्रै छैनन्, एकताबद्ध पनि छन् । विषयवस्तु र विचार नमिलेमा वादविवाद गर्छन् तर मिल्ने पृष्ठभूमिमा मिल्छन् पनि । समयको अन्तरालमा व्यक्तिवादी चिन्तनहरू सामाजिक अभिष्टमा एकाकार हुन सक्दछन् भन्ने सन्देश प्राप्त भएको छ ।
दार्खाबारे जुन भ्रम पालिएको थियो त्यो समाप्त भएको छ । अब दार्खाका युवाहरू एकजुट भएका छन् भन्ने सन्देशको रूपमा बुझिनु जरूरी छ ।
युवा उमेर आफैमा मपाइत्व देखाउने मौका खोज्ने उमेर हो । मनोविज्ञहरूले यस उमेरलाई सम्बोधन गर्नुपर्ने उमेर मान्दछन् । हाम्रो समाज र राजनीतिले भोलिका कर्णाधार मान्दछन् अनि युवा मागमा दिलचस्पी दिदैनन् अनि उम्लिन्छन् युवा, पोखिन्छन् युवा । वास्तवमा युवा वर्तमानको हिस्सेदार हो, उसलाई उत्साहा र प्रेरणा सॅगै नेतृत्व गर्ने मौका दिइनु पर्छ ।