एउटै मन्दिरमा १४ हजार भन्दा बढी बलि दिईयो

Avatar photo
Dhadingpost
अशोज २५, २०७३

धनुषा, असोज २५ । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ ।
अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ । अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो ।

आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो । यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि प्रदान भएको छ ।

विगतमा २०७० सालमा १४ हजार ८६१ बलि प्रदान भएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि प्रदान भएको थियो ।

अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ । एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ ।

यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाउनुभयो । रासस