धादिङ असोज २०-
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुर सहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिन नेपाल भ्रमणमा आउन लागेका मुखर्जीलाई जनकपुर, लुम्बिनी र पोखरा लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मुखर्जीले यी तीन ठाउँमा जाने इच्छा देखाएका छन् भने नेपाली अधिकारीले पनि उनलाई लैजाने इच्छा प्रकट गरेका छन् । स्रोतले जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिएको छ ।
मुखर्जीलाई काठमाडौंबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौं, काठमाडौबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौं ल्याइने गरि रुट मिलाइएको छ ।
यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहेका थिए । तर सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द गरिएको थियो ।
राष्ट्रपति मुखर्जी अगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपाल भ्रमणमा आउँदैछन् ।
लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।