धादिङ असोज ११-
मधेसी मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि आफूहरुसँग कुरा मिलिसकेको भन्दै नौटंगी गरिरहेको भन्दै आज निर्णायक वार्ता गर्ने जनाएको छ ।
हिजो बसेको मधेसी मोर्चाको बैठकले संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने निर्णय गरेको थियो । ‘प्रधानमन्त्रीजीले कुरा मिलिसक्यो भन्दै बोलिरहनुभएको छ, तर त्यस्तो केही पनि नभएको शीर्ष नेताहरुले बताउनुभयो,’ गणतान्त्रिक फोरममा अध्यक्ष राजकिशोर यादवले भने, ‘यसबारे मंगलबार प्रधानमन्त्रीसँग मोर्चाले वार्ता गर्ने निर्णय भएको छ र वार्ताको समय मिलाउने जिम्मा महन्थ ठाकुरलाई दिइएको छ ।’
प्रचण्डले संविधान संशोधन गरेर समस्या समाधान गर्छु भने पनि अहिलेसम्म मोर्चासँग त्यस्तो कुनै प्रस्ताव नल्याएको यादवले बताए । उनले भने( प्रचण्डले व्यक्तिपिच्छे कुरा फेरिरहनुभएको छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो उहाँ नौटंगी मात्रै गरिरहनुभएको छ ।’
प्रधानमन्त्रीले अहिलेसम्म संविधान संशोधनबारे कुनै औपचारिक प्रस्ताव मोर्चासमक्ष नल्याएको भन्दै बैठकमा सबै नेताले असन्तुष्टि राखेको यादवले जानकारी दिए ।