धादिङ असोज ११-
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका चारबुँदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन सुरु गरेका छन् ।उनले यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गरेका थिए ।
सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया सुरु नभइ अनसन नरोकिने बताए ।
डा. केसी सोमबार अपराहृनबाट अनसनमा बसेका हुन् । डा. केसीले भने, ‘लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन तोड्दिन ।’डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ ? भन्ने प्रश्न गरे ।
के-के छन् माग ?
केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने माग राखेका छन् । डा. केसीले यसअघि लोकमानलाई महाअभियोग लगाउनुपर्ने बताएकोमा नवौं अनसनमा आयुक्त सिंहको नाम पनि थपेका छन्
यस्तै शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमतिअनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले अघि सारेका छन् ।