धादिङ असोज १०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई कुँडो खाएर अघाएको भैंसीको संज्ञा दिएका छन् ।
एमाले अध्यक्ष ओलीले मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको बताए । नेकपा एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले नेपाली काँग्रेस अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बनेजस्तै देखिएको बताए ।
उनले देशको सबैभन्दा ठूलो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको बताए । एमाले अध्यक्ष ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप लगाए । विभिन्न संस्था र दलहरुलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।
एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरुले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरुले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस माओवादीले सरकारमा बसेर मनपरी गर्दा पनि मौन भएको बसेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले मनपरी गरेपनि पहिलो पार्टी समेत रहेको कांग्रेस भने चुपचाप बस्नु आश्चर्यजनक भएको उनले बताए ।
ओलीले हिजोमात्र
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका थिए । राजधानीमा आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ विमोचन कार्यक्रममा ओलीले कांग्रेससँग कुनै पनि नीति नभएको बबताएका थिए । ‘संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस निदाएको छ कि ब्युझेको छ थाहा छैन, नीति छ कि छैन थाहा छैन, कसो हुनुपर्छ थाहा छैन,’ कांग्रेस आराम गरिरहेको उल्लेख गर्दै ओलीले बताएका थिए , ‘बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ, कांग्रेसले के शिकार गर्यो कुन्नी खुट्टा पसारेर सुतेको छ ।’