धादिङ असोज १०-
सरकारले भूकम्प प्रभावित परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र दिइसक्ने निर्णय गरेको छ ।
बैठकले पहिलो किस्ता पाइसकेकाहरुलाई दोस्रो किस्तामा १ लाख ५० हजार दिने निर्णय पनि गरेको एमाले नेता भिम रावलले जानकारी दिए । तेस्रो किस्तामा एक लाख उपलब्ध गराइनेछ ।
प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दै ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार दिइसक्ने निर्णय गरेका थिए । सोमबारसम्म ४ लाख ५५ हजार ८९ परिवारसँग अनुदान सम्झौता भइसकेको छ भने बाँकीसँग सम्झौता नै हुन बाँकी छ ।
भूकम्प पीडितलाई घर निर्माणका लागि २ लाख अनुदान दिने निर्णय भएपनि प्रधानमन्त्री प्रचण्डले संसदमार्फत एक लाख रुपैयाँ बढाउने घोषणा गरेका थिए ।
तर, थपिएको एक लाख रुपैयाँको अनुदानमा शौचालय वा बायोग्यासमध्ये एक बनाउनु पर्ने शर्त थप गर्ने प्राधिकरणको निर्णय छ । यसबारे अर्थ मन्त्रालयसँग समन्वय गरेर कार्यविधि बनाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
निर्देशक समितिको बैठकले भूकम्पबाट अति प्रभावित १७ जिल्लाको थप लगत संकलनका लागि प्राविधिक टोली खटाउने निर्णय गरेको छ ।
यसरी परिचालन हुने प्राविधिक समितिले अहिले भूकम्प प्रभावित परिवारको सूचीमा छुटेकाहरुको नाम संकलन गर्ने, अहिलेको प्रगति हेर्न र यसअघि बाँडिएको अनुदान रकम कसरी खर्च भइरहेको छ, त्यसको लगत संकलन गर्नेछ ।